Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


दोहोरो कर उन्मुक्ति भए युएईको लगानी आउँछ : राजदूत सइद


0
Shares

काठमाडौं, साउन १३ । नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई)का नवनियुक्त राजदूत सइद हम्दान अल नक्दीले दुई देशबीचको व्यापारमा दोहोरो कर हटाउनसके युएईको लगानी नेपालमा आउने बताएका छन् ।

दोहोरो कर उन्मुक्तिसम्बन्धी दुई देशबीच सहमति गर्न नेपालको निजी क्षेत्रले सघाउने विश्वास पनि उनले व्यक्त गरेका छन् ।

नेपाल चेम्बर अफ कमर्सले राजदूतसँग विहीबार गरेको कार्यक्रममा उनले युएईका लगानीकर्तालाई नेपालको व्यापारको विषयमा नेपालले जानकारी गराउनुपर्नेमा पनि जोड दिए ।

हवाई क्षमता विस्तार र कार्गाे सेवालाई प्रभावकारी बनाउन लागिपरेको उनको भनाइ थियो ।

दुई देशबीचको आर्थिक–सामाजिक विकासमा आफ्नोतर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता उनको छ ।

चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले दुई देशबीच व्यापार तथा लगानी अभिबृद्धिमा सहयोग गर्न आग्रह गरे ।

नेपालमा पुँजी तथा प्रविधिको आवश्यकता रहेको भन्दै उनले युएईलाई पुँजी एवं प्रविधि भित्र्याउन आग्रह गरे ।

चेम्बरले सेप्टेम्बर २३ देखि २७ सम्म आयोजना गर्ने नेपाल चेम्बर एक्सपो २०१६ मा सहभागिताका लागि पहल गर्न पनि राजदूतसमक्ष आग्रह गरेको छ ।