
फाइल फोटो
काठमाडौं, साउन १३ । नेपालको कोसी ब्यारेजमा विभिन्न आतंककारी समूहबाट आक्रमण हुनसक्ने भनी केही स्वदेशी र विदेशी सन्चारमाध्यमबाट प्रकाशित समाचारप्रति गृह मन्त्रालयले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
मन्त्रालयका प्रवक्ता यादवप्रसाद कोइरालाले विहीबार विज्ञप्ति जारी गर्दै यस्तो हल्ला र अफवाहबाट त्रसित नहुन सम्बन्धित सबैमा आग्रह गरेका हुन् ।
विज्ञप्तिमा भनिएको छ–‘सुरक्षा जस्तो संवेदनशील विषयमा यथोचित प्रक्रिया र धारणाबिना समाचार प्रसारित हुनाले समाजमा त्रसित तुल्याउने र सुरक्षाको आन्तरिक मामिलामा असरपर्न जाने भएकाले यसतर्फ सम्बन्धित सबैको ध्यान जानु वाञ्छनीय हुन्छ ।’
नेपाल सरकारबाट कोसी ब्यारेजलगायत देशका सबै महत्वपूर्ण संरचना, संस्थाको पर्याप्त सुरक्षा व्यवस्था गरिएको र यस्तो सुरक्षा व्यवस्था गर्न नेपाल सरकार सक्षम रहेको मन्त्रालयले जनाएको छ ।
उपर्युक्त संयन्त्र र प्रणालीमार्फत् कहीँकतैबाट प्राप्त हुने जानकारी र सूचनालाई मनन् गरी यथोचित पाइला चाल्न नेपाल सरकार तत्पर रहेको मन्त्रालयले जनाएको छ । रासस
विज्ञप्ति पढ्नोस्
प्रतिक्रिया दिनुहोस्