
काठमाडौं, साउन १४ । उनको दोष केही थिएन, तर पनि एक रात जेलमा कोचिनु पर्यो । त्यतिमात्र होइन, बुबाको उपचारका लागि ल्याएको ५० हजार रुपैयाँ गुमाउनु पर्यो ।
गाउँठाउँका साथीलाई विश्वास गरेकै कारण अहिले उनी तनावमा छन् ।
उनी अर्थात्, सुनसरी इनरुवाका रामनन्दलाल कर्ण । उनका बुबा उपचारका लागि ललितपुरस्थित बिएन्डबी अस्पताल भर्ना गरिएका छन् । कर्णले बस्न सजिलो होस् भनेर नजिकैको एक होटलमा कोठा लिएका छन् ।
घटना हो, बुधबार रातिको । साथी गोविन्द सिंह र चिनजानका राहुल राईले उनलाई भेट्न आउने प्रस्ताव राखे । गाउँमा खाइखेली हुर्केको साथीलाई अविश्वास गर्नुपर्ने कारण थिएन । कर्णले सहर्ष स्वीकारे ।
नभन्दै बेलुकीतिर दुबै साथी होटलको कोठा नम्बर ३०४ मा पुगे । तर अन्य दुई युवती पनि सँगै थिए । बुझ्दै जाँदा ती युवती यौनकर्मी रहेको कर्णले चाल पाए ।
उनले ती युवतीलाई कोठामा पस्न नदिने अड्डी कसे । तर साथीहरुको हठले गर्दा तिनै युवतीले कर्णको ५० हजार रुपैयाँ उम्काए ।
प्रहरीका अनुसार सिंह र राईले जबर्जस्ती युवती कोठाभित्र लगेपछि कर्ण विरोध गर्दै तल ओर्लिएका थिए । यही क्रममा दुई युवती कर्णको झोलामा रहेको पैसा लिएर फरार भए ।
कर्णले तत्काल प्रहरीलाई खबर गरे । तत्काल महानगरी प्रहरी बृत्त जनसेवाको टोली घटनास्थल पुग्यो । त्यहाँ पुग्दा सिंह र राईले उल्टै डिउटीमा रहेका हवल्दारमाथि हातपात गरे । त्यसपछि प्रहरीले कर्णसहित तीनै जनालाई नियन्त्रणमा लियो ।
निर्दोष देखिएपछि कर्णलाई भने प्रहरीले बिहीबार बिहान छाडिदिएको छ । दुवै युवतीको खोजी तीब्र पारिएको प्रहरीले जनाएको छ । –नागरिक दैनिकबाट
प्रतिक्रिया दिनुहोस्