
काठमाडौं, साउन १४ । सशस्त्र प्रहरी बलले भूकम्पपीडित सशस्त्र प्रहरी कर्मचारीलाई दिने भनेको ४० हजार रुपैयाँमध्ये १५ हजार रुपैयाँ भूकम्प गएको १५ महिना बितिसक्दा पनि दिएको छैन ।
सशस्त्र प्रहरी मुख्यालयले भूकम्पका कारण घर भत्किएर बिचल्ली परेका सशस्त्र प्रहरी परिवारको राहतका लागि दिने भनेको रकम पुरापुर नपाउँदा पीडित कर्मचारीमा नैराश्यता छाएको छ ।
फिर्ता गर्नु नपर्ने घोषणासहित कल्याणकारी कोषमार्फत वितरण गर्ने भनिएको सो रकम त्यसबेला सबै सशस्त्र प्रहरी कर्मचारीबाट मासिक तलबाट कटौती गरी भूकम्पपीडितलाई राहत दिने निर्णय भएको थियो ।
सशस्त्र प्रहरी बलका केन्द्रीय प्रवक्ता सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक शैलेन्द्र खनालले बाँकी १५ हजार रुपैयाँ केही समयपछि दिने तयारी भइरहेको बताए । ‘भूकम्पमा घर भत्किएका सशस्त्र प्रहरी बलका कर्मचारीलाई त्यसबेला ४० हजार रुपैयाँ दिने निर्णय भएको हो, उनीहरुले २५ हजार रुपैयाँ पाइसकेका पनि छन्, तथ्यांक संकलन गर्न ढिलाइ भएकाले रोकिएको हो, केही समयपछि वितरण हुन्छ,’ प्रवक्ता खनालले भने ।
सोही रकम वितरणका लागि सबै सशस्त्र प्रहरी कर्मचारीका तर्फबाट मासिक ३ सय रुपैयाँ तलव कटौती हुँदै आएको छ ।
पीडित सशस्त्र प्रहरी कर्मचारीलाई आर्थिक सहयोग उपलब्ध गराउन दुई वर्षसम्म हरेक सशस्त्र प्रहरी कर्मचारीले दैनिक १० रुपैयाँको दरले आर्थिक सहयोग उपलब्ध गराउने गरी त्यसबेला राहत प्याकेज घोषणा गरिएको थियो । –राजधानी दैनिकबाट
प्रतिक्रिया दिनुहोस्