
काठमाडौं, साउन १४ । वर्षैपिच्छेको प्राकृतिक विपत्ति व्यहोर्नु नेपालीको नियति नै बनिसकेको छ । कहिले भूकम्प त कहिले बाढी–पहिरो । शीतलहर, सुक्खादेखि झाडापखाला वर्षेनि थुप्रै नेपालीले ज्यान गुमाउनुपर्ने कारक हुन् ।
यो वर्षको वर्षात्मा पनि बाढी–पहिरोमा परेर दर्जनौंले मृत्युवरण गरिसकेका छन् ।
अघिल्लो वर्ष भूकम्पले हजारौंलाई मृत्युको मुखमा पुर्यायो । भूकम्पको पीडामा परेकाहरु त्यस पीडाबाट बाहिरिनै सकेका छैनन् ।
तर, यस वर्षको वर्षात् तिनै पीडितदेखि अरु नेपालीसम्मका लागि अर्को व्यहोर्नैपर्ने नियति बनेर हाजिर भयो ।
लगातारको वर्षाले पहाडी क्षेत्रमा पहिरो र तराईमा बाढी तथा डुबानले अहिले दर्जनौं व्यक्तिको इहलीला समाप्त भएको छ भने हजारौं हजार बेघर भएका छन् ।
पहिरो, बाढी र नदी कटान जस्ता कारणले यस वर्ष अहिलेसम्म झन्डै ९० जनाको मृत्यु भइसकेको छ भने त्यहीक्रममा दुर्घटनामा परेर ज्यान गुमाउनेको संख्या पनि उत्तिकै छ ।
चौपायादेखि धनमालको नोक्सानीको त कुरै छैन । भोटेकोसी नदीले बितन्डा मच्चाउँदै सुरु भएको यस वर्षको वर्षात् सकिने समयसम्म कति क्षति व्यहोर्नुपर्ने हो यकिन छैन ।
भोटेकोसी उर्लिंदा तटीय सिन्धुपाल्चोकलगायत जिल्लाका थुप्रैले थातथलो छोड्न बाध्य भए । घर डुबानमा पर्ने त्यत्तिकै छन् ।
भोटेकोशीको बितन्डा त्यतिमै सीमित भएन यसले तराई पुगेर मानिसको घर–आँगनमै प्रवेश गर्यो ।
बिपत्ति आफ्नै अगाडि आएपछि त्यसलाई व्यहोर्नुको कुनै विकल्प थिएन । भयो पनि त्यही । हेर्दाहेर्दै घर डुब्यो, टोल डुब्यो, गाउँ नै जलमग्न भयो । आफन्त डुबे र फर्केर आएनन् ।
प्राकृतिक प्रकोपबाट जुनसुकै बेला खतरामा पर्ने जान्दाजान्दै त्यस्तै स्थानमा बस्नेदेखि अनुमति दिने सरकारसम्मको उत्तिकै कमजोरी छ, यो धनजनको क्षति हुनुमा ।
देशै बाढी–पहिरोको चपेटमा पर्दा पनि जोखिमपूर्ण क्षेत्रको पहिचान गरी पीडितको जीवनरक्षाका निम्ति सरकार कदम चाल्न तयार देखिएको छैन ।
नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी दुःखमा जुट्छन् । एक रिपोर्ट (भिडियो हेर्नुहोस्) ।
प्रतिक्रिया दिनुहोस्