७ श्रावण २०८२, बुधबार | Wed Jul 23 2025


‘पुनःनिर्माणमा निजी क्षेत्रको विशेष भूमिका आवश्यक’


0
Shares

काठमाडौं, साउन १४ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुशील ज्ञवालीले पुनःनिर्माणमा सरकार, निजी क्षेत्र एवं सर्वसाधारणको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।

राष्ट्रिय व्यवसायिक पहल र भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालले शुक्रबार राजधानीमा गरेको कार्यक्रममा ज्ञवालीले पुनःनिर्माणलाई सहीरुपमा अगाडि बढाउन प्राधिकरण सक्षम रहेको दाबी गरे ।

प्राधिकरणको प्रमुखकार्य जनताको घर बनाउने रहेको भन्दै उनले यसकार्यमा निजी क्षेत्रले उल्लेख्य भूमिका निर्वाह गर्नुपर्ने बताए ।

घर बनाउन गाउँ–गाउँमा पैसा, निर्माणसामग्री एवं दक्ष जनशक्तिको परिचालन आवश्यक रहेको र यसका लागि निजी क्षेत्रको सहयोग आवश्यक रहेको उनको भनाइ छ ।

राष्ट्रिय व्यवसायिक पहलका अध्यक्ष पद्य ज्योतिले भूकम्पलगत्तै राहतस्वरुप एवं पुनःनिर्माणका लागि निजी क्षेत्रले स्वःस्फूर्तरुपमा १ अर्ब ७५ करोड रुपैयाँ सहयोग गरेको बताए ।

पुनःनिर्माणमा निजी क्षेत्र सहयोग गर्न तत्पर रहेको उनले उल्लेख गरे ।

कार्यक्रममा भूकम्प, आगलागीजस्ता प्राकृतिक प्रकोप एवं उर्जासंकट, तोडफोडजस्ता मानवीय प्रकोपको सामना कसरी गर्ने भन्ने विषयमा तयार पारिएको पुस्तक पनि विमोचन गरिएको थियो ।