
सुनसरी, साउन १५ । सप्तकोशी नदीले आफ्नो धार परिवर्तन गरेपछि सुनसरी र उदयपुरमा पर्ने श्रीलंका टापुका हजारौं नेपालीको जीवन खतरामा परेको छ ।
नदीले आफ्नो धार पश्चिम मोडेकाले नदी बीचमा रहेको श्रीलंका टापुका १२ हजार दुई सय घर जोखिममा परेको हो । असार र साउनमा मात्रै टापुको दुई हजार बिघा जमिन कटान गरेको स्थानीयले बताएका छन् ।
पाँच दिनअघि पसेको कोशीले घर डुबान गर्दा त्यहाँका बासिन्दाले पाँच दिनदेखि पकाएको खाना नपाएको स्थानीयले बताएका हुन् । पानी केही कम भएपछि स्थानीय आफ्ना घरतर्फ फर्कन थालेका छन् ।
उक्त टापुमा प्रकाशपुर गाविसका वडा नम्बर ४ र ५, महेन्द्रनगरको वडा नम्बर ५ र उदयपुरको तपेश्वरी गाविसको वडा नम्बर १ का १२ हजार दुई सय घर पर्छन् ।
२० वर्षअघि कोशी पूर्व महेन्द्रनगर र प्रकाशपुरतिर लागेपछि बस्ती घना भएको श्रीलंका टापुका बासिन्दा तरकारी खेती र पशुपालन गर्ने गर्दछन् । टापुमा विद्युत, टेलिफोन, स्वास्थ्य चौकी र प्रहरी चौकीसमेत स्थापना नगरिँदा यस्ता आपतकालीन समयमा उनीहरुलाई सहयोग गर्ने निकाय नै नरहेको हो
त्यहाँका आठ वटा निजी र सरकारी विद्यालयको पठनपाठन बन्द हुँँदा करीब दुई हजार विद्यार्थी विद्यालय जान पाएका छैनन् । बाढीका कारण डुंगाबाट आउजाउ गर्नसमेत कठिनाइ भएको खबर छ ।
उता, सप्तरीको सीमावर्ती गाविस तिलाठीस्थित दशगजा क्षेत्रमा भारतले एक पक्षीय रुपमा बनाईरहेको बाँध तत्काल अघि नबढाउने सहमति गरिएको छ ।
विहारको कुनौलीमा नेपाली र भारतीय अधिकारीहरुबीच दशगजा क्षेत्रमा बाँध नबनाउने सहमति गरिएको हो । खाँडो खोलाको धारलाई पुरानै स्थानबाट बगाउन च्यानलाइज गर्ने, दशगजामा हराएका सीमा स्तम्भ खोजीका लागि दुवै पक्षले केन्द्रीय स्तरमा पहल गर्ने र तत्काल बाँध बनाउने कार्य रोक्ने सहमति गरिएको हो ।
नेपालको जल उत्पन्न प्रकोप तथा भारतको जल संशाधन विभागका प्रमुखको संयुक्त टोलीले अध्ययन गरी दिने प्रतिवेदनको आधारमा मात्रै थप निर्णय गरिने सहमति भएको सप्तरीका प्रमुख जिल्ला अधिकारी बलदेव गौतमले जानकारी दिए ।
वार्तामा नेपालको तर्पmबाट सप्तरीका प्रमुख जिल्ला अधिकारी बलदेव गौतमसहित जिल्लास्थित सुरक्षा प्रमुखहरु र भारतको बिहारस्थित सुपोल जिल्लाका डिस्ट्रिक मजिस्टेड बैधनाथ यादवसहितका अधिकारी सहभागी थिए ।
तिलाठीमा भारतीयले नेपाली भूमि डुबानमा पार्नेगरी बाँध निर्माण गरेपछि विहीवार भारतीयहरुसँग भएको झडपमा १२ जना नेपाली घाइते भएका थिए ।
प्रतिक्रिया दिनुहोस्