
फाइल फोटो
काठमाडौं, साउन १५ । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच मुलुकको पछिल्लो राजनीतिक अवस्थाको विषयमा छलफल भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार भएको भेटवार्तामा अध्यक्ष दाहालले प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्षसमेत रहेका ओलीलाई राष्ट्रिय सहमतिको सरकार गठन गर्न र त्यसका लागि सहयोग गर्न आग्रह गरेका थिए ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतिको सरकार गठनका लागि दलहरुलाई दिएको समयसीमा आइतबार (भोलि) सकिन लागेको अवस्थामा प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच भेटवार्ता भएको हो ।
राष्ट्रिय एजेन्डामा मिलेर अगाडि जाने अवस्था रहेको भएपनि तत्काल आफ्नो पार्टी सरकारमा सहभागी हुने सम्भावना कम रहेको भन्दै प्रधानमन्त्री ओलीले अध्यक्ष दाहाललाई जानकारी गराएका थिए ।
अध्यक्ष दाहालको सचिवालयले जारी गरेको प्रेसनोटमा छलफलकाक्रममा मुलुकको पछिल्लो राजनीतिक अवस्था, नयाँ सरकार गठन, संविधान कार्यान्वयनलगायतका विषयमा दुई शीर्ष नेताबीच भेटवार्ता भएको जनाइएको छ ।
एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएर नयाँ सरकार गठनको प्रक्रियामा माओवादी केन्द्र अगाडि बढिरहेकाबेला भएको भेटवार्तामा दुई दलबीच पछिल्लो दिनमा बढेको दूरी घटाउने र राष्ट्रिय मुद्दामा मिलेर जाने सहमतिसमेत भएको उल्लेख गरिएको छ । रासस
प्रतिक्रिया दिनुहोस्