२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


‘सुदूरपश्चिममा अझै एक/दुई दिन भीषण वर्षाको सम्भावना’


0
Shares

                                                              फाइल फोटो

काठमाडौं, साउन १५ । मनसुनी गतिविधि सक्रियतासँगै केही दिनयता निरन्तर भइरहेको वर्षा क्रमशः कम हुँदै गएको छ ।

एक सातासम्मको भारी वर्षाले पहाडी भेगमा पहिरो र तराई क्षेत्रमा डुबानले ठूलो संख्यामा जनधनको क्षति भएको थियो ।

गृह मन्त्रालयको विवरणअनुसार अविरल वर्षाका कारण आएको बाढी–पहिरो र डुबानमा परी साउन १३ गतेसम्म ७५ जनाको मृत्यु, ३१ जना घाइते र १२ जना बेपत्ता भएका छन् ।

देशको पश्चिमी भेगमा भने अझै केही दिन वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

खासगरी सुदूरपश्चिम भेगमा रातिको समयमा एक/दुई दिन भीषण वर्षा हुने सम्भावना रहेको मौसमविद् बरुण पौडेलले राससलाई जानकारी दिए ।

‘दुई तीन दिनयता लगातारको झरी कम भइसकेको छ, सक्रिय मनसुनमा सुधार आएको छ । तर, पश्चिम क्षेत्रमा केही दिन वर्षा हुने देखिएकाले सतर्क रहनुपर्ने हुन्छ’–उनले भने ।

शनिबार पनि उपत्यकासहित देशभर बदलीसँगै अधिकांश क्षेत्रमा सामान्य वर्षा भएको छ ।

विभागको पछिल्लो विवरणअनुसार शनिबार सबैभन्दा बढी धनगढीमा ४१ मिलिमिटर र सबैभन्दा कम दीपायलमा तीन मिलिमिटर वर्षा भएको छ ।

काठमाडौंमा १२ मिलिमिटर वर्षा भएको छ भने ताप्लेजुङमा २३, ओखलढुंगामा ३३ र डडेल्धुरामा १९ मिलिमिटर वर्षा भएको छ । रासस