७ श्रावण २०८२, बुधबार | Wed Jul 23 2025


सात बर्ष वित्यो खलंगा-तिङ्कर सडक निर्माण अधुरै (भिडियो)


0
Shares

-कृष्ण लोथ्याल/बसन्त ठेकरे (ईमेज)

काठमाडौं/दार्चुला, साउन १६ । राष्ट्रिय महत्वको दार्चुलाको खलंगा–तिङ्कर सडक परियोजना सुरु भएको सात वर्ष वितिसकेको छ । २०६५ सालमा सुरु भएको परियोजना २०७६ सालसम्म सम्पन्न गर्ने लक्ष्य राखिए पनि कामको गति सुस्त हुँदा निर्धारित समयमै काम सम्पन्न हुने देखिएको छैन ।

यस सडक परियोजनाको कामले गति लिन नसक्दा स्थानीयबासी चिन्तित बनेका छन् । दार्चुला सदमुकाम खलंगादेखि १ सय ३० किलोमिटर उत्तरी चीनसँग जोड्ने तिङकरसम्म सडक सञ्जाल जोड्ने उद्देश्यले सात वर्षअघि सुरु भएको परियोजनाको काम कछुवा गतिमा मात्र भएको छ ।

यसबीचमा जम्मा ५० किलोमिटर मात्र सडकको ट्रयाक खोलिएको छ । २ अर्ब १७ करोड ८० लाख ८० हजार कूल लागत रहेको परियोजनाले गति लिन नसक्दा स्थानीय आक्रोसित छन् ।

५० किलोमिटर ट्रयाक खुलेको सडकको ६ किलोमिटर राताकाठासम्म मात्र गाडि सञ्चालनमा आएको थियो । तर, २०७० सालमा महाकाली नदीमा आएको बाढीले त्यो सडकसमेत बगाइदिएपछि यातायात सञ्चालन हुन सकेको छैन ।

सदरमुकाम आउन दुहु क्षेत्रका बासिन्दाले भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ । भारतीय बाटो प्रयोग गर्दा आफ्नै भूमि ब्यास तिंकर जाँदा पास बनाउनुपर्ने, भारतीय पुलिसको ज्यादती खेप्नुपर्ने पीडा त छँदै छ, ज्यानै जोखिममा पारेर तुईन चढ्नुपर्ने अर्को बाध्यता पनि स्थानीयको छ ।

परियोजना निर्माण स्थलमा भेटिएका कडा चट्टान विस्फोट नगराई काम गर्न समस्या हुने देखिएको छ । विस्फोटक पदार्थ जिलेटिन आयात गर्न परियोजनाले नेपाली सेनासँग सम्झौता गरेर पैसासमेत बुझाइसक्दा समेत चाहिएजति उपलब्ध हुन नसकेको जनाएको छ । त्यसैगरी महाकालीको बाढी, भारतीय नाकाबन्दी लगायतका कारण काममा ढिलाई भएको परियोजना प्रमुख मनिषकुमार साहको भनाइ छ ।

उत्तरी नाका चीनसँग जोडिने दार्चुला खलंगा –टिंकर सडक खण्ड सम्पन्न भए चीनसँगको व्यापारिक सम्बन्धमा मात्र सहजता आउँदैन, स्थानीयबासिको आर्थिक अवस्थामा समेत सुधार हुने देखिएको छ । यसका लागि सबै निकायले पहल गर्नु जरुरी देखिन्छ ।