२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


ट्रष्टका जमिन सेना र सरकारले सित्तैमा प्रयोग गरेको गुनासो


0
Shares

काठमाडौं, साउन १६ । अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको आइतबार बसेको बैठकमा पशुपति विकास कोष, लुम्बिनी विकास कोष, जनकपुरको रामसीता सर्किट योजना र नेपाल ट्रष्टको प्रगति विवरणमाथि छलफल भएको छ ।

बैठकमा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले पशुपति, लुम्बिनी र जनकपुरजस्तो धार्मिक महत्वको क्षेत्रका जग्गाहरुमा व्यवसायिक भवनहरु बनाउन दिन नहुने र त्यहाँको हरियालीलाई जोगाउनुपर्नेमा जोड दिएका थिए ।

उनले धार्मिक पर्यटनको सम्भावना भएका क्षेत्रहरुलाई त्यसैअनुरुप विकास गरिनुपर्ने बताए ।

बैठकमा नेपाल ट्रष्टका कार्यकारी सचिव भीमप्रसाद उपाध्यायले ट्रष्टका भवन तथा जग्गाजमिनहरु अहिले पनि सेना तथा सरकारले सित्तैमा प्रयोग गरिरहेको जानकारी दिंदै ट्रष्टको सम्पत्ति कसैले पनि सित्तैमा प्रयोग गर्न नपाउने बताए ।

उनले ट्रष्टमा रहेको नगद तथा जग्गाजमिनको सदुपयोग गर्न नसकिएको गुनासोसमेत गरे ।

बैठकमा सहभागी सांसदहरुले पशुपति, लुम्बिनी र जनकपुरको विकास पनि सन्तोषजनक ढंगबाट अघि बढ्न नसकेको बताएका थिए ।