७ श्रावण २०८२, बुधबार | Wed Jul 23 2025


भिटोफको नयाँ कार्यसमिति निर्विरोध चयन, संचारकर्मीलाई सम्मान


0
Shares

काठमाडौं, साउन १६ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्द पोखरेलले केपी ओली नेतृत्वको सरकारले ल्याएको दश वर्षे पर्यटन रणनीतिलाई निरन्तरता दिन नयाँ बन्ने सरकारलाई आग्रह गरेका छन् ।

दश वर्षमा कम्तीमा २३ लाख पर्यटक नेपाल भित्र्याउने रणनीतिका साथ सरकारले पर्यटन रणनीति सार्वजनिक गरेको भन्दै यसलाई कुनै दल र पार्टी विशेषको कार्यक्रमको रुपमा नलिई देशकै हितमा आएको कार्यक्रमका रुपमा बुझ्न आग्रह गरे ।

२० औं गाउँ पर्यटन दिवसको अवसरमा गाउँ पर्यटन विकास मञ्च– भिटोफले काठमाडौंमा गरेको कार्यक्रममा उनले नेपालको जीवित संस्कृति तथा जैविक विविधतामार्फत् पर्यटन प्रबर्द्धनतर्फ केन्द्रित हुन पर्यटन व्यवसायीलाई आग्रह गरे ।

त्यस क्रममा पर्यटन क्षेत्रसँग सम्बन्धित विभिन्न व्यक्तिले नेपालमा गाउँ पर्यटनको अथाह सम्भावना भएपनि अहिलेसम्म त्यसलाई सोचेअनुसार विकास गर्न नसकिएको बताएका थिए ।

भिटोफका अध्यक्ष चित्रबहादुर गुरुङको सभापतित्वमा भएको उद्घाटन समारोहमा नेकपा एमालेको पर्यटन विभाग प्रमुख सूर्य थापा, नेपाल पर्वतारोहण संघका अध्यक्ष आङ्छिरिङ शेर्पा, भिटोफका प्रमुख सल्लाहकार प्रा. डा. प्रेम शर्मा, ठमेल पर्यटन परिषदका अध्यक्ष रामशरण थपलिया, ट्रेकिङ् एजेन्टस् एसोसिएसन नेपाल (टान)का अध्यक्ष चन्द्र रिजाल, भिटोफका महासचिव राजकुमार थापालगायतका वक्ताहरुले गाउँ पर्यटनको विकास र प्रवर्द्धनका बारेमा बोलेका थिए ।

सो अवसरमा पर्यटनविद् रविजङ्ग पाण्डेले दक्षिण तथा दक्षिण पूर्वी एसियामा पर्यटन विकास सम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै नेपालले यी मुलुकबाट पर्यटन विकासमा धेरै कुरा सिक्न सक्ने बताए ।

कार्यक्रममा भिटोफ नेपालले पत्रकारिताको माध्यमबाट गाउँ पर्यटन प्रबर्द्धनमा योगदान गरेको भन्दै इमेजकर्मी सन्दिप पौड्याल, गन्तव्य नेपालका अध्यक्ष शिव अधिकारी र सेतोपाटी डटकमका चन्द्र काफ्लेलाई सम्मान गरिएको थियो ।

 

भिटोफका प्रमुख सल्लाहकार प्रा. डा. प्रेम शर्मा र सद्भावना दूत अमृत भादगाउँलेलाई पनि कार्यक्रममा सम्मानित गरिएको थियो । गाउँ पर्यटन मञ्च (भिटोफ)नेपालको आज सम्पन्न २०औँ साधारणसभाले कमल सापकोटाको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ । दुई वर्षका लागि निर्वाचित कार्यसमितिको प्रथम उपाध्यक्षमा राम घले, द्वितीय उपाध्यक्षमा दीपक दाहाल, महासचिवमा वासुदेव पाण्डे, सचिवमा जस्फा पाण्डे, कोषाध्यक्षमा गगनराज न्यौपाने र सहकोषाध्यक्षमा कृष्णबहादुर सुवेदी निर्विरोध चयन भएका छन् ।

यसैगरी सदस्यमा हरिचन्द्र गैरे, सञ्जिव श्रेष्ठ, कुलप्रसाद सुवेदी, जङ्गबहादुर लामा र प्रकाश अर्याल रहेका छन् । दुईजना सदस्य भने नयाँ कार्यसमितिले मनोनित गर्नेछ ।

यसैगरी साधारणसभाले पोखरा शाखाबाट पनि प्रतिनिधि छनोट गरेको छ । पोखरा अध्यक्ष तारानाथ पहारीलाई केन्द्रिय कार्य समितिमार्फत पदेन पदाधिकारीमा चयन गरेको हो । भिटोफमा हाल ६ सय २८ सदस्य छन् ।