२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


राजधानीमा इन्फ्लुएन्जा ‘बी’ को संक्रमण, रुघाखोकी र ज्वरोका बिरामी बढे


0
Shares

काठमाडौं, साउन १६ । उपत्यकामा वर्षायाम सुरु भएसँगै रुघाखोकी र ज्वरोका बिरामी बढेका छन् ।

टेकु अस्पतालमा अहिले रुघाखोकी र ज्वरोको समस्या लिएर आउने बिरामीको सङ्ख्या पनि बढ्दै गएको अस्पतालका सरुवा रोग विशेषज्ञ डा शेरबहादुुर पुनले बताए ।

अस्पतालमा दैनिक १० जनाभन्दा बढी ज्वरोको समस्या लिएर आउने गरेको डा पुनले जानकारी दिए । उनले भने, ‘यो वर्ष युवामा इन्फ्लुएन्जा बी कडारुपमा देखिएको छ । साधारणतया बी नरम हुनुपर्ने भएपनि अहिले यसले कडारुपमा युवालाई प्रभावित पारेको देखिएको छ ।’

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा बाबुराम मरासिनीले बिरामीले समयमै होसियारी नअपनाए यो समयमा भाइरल ज्वरोले सताउने बताए । कामज्वरो आउने, जाडो हुने, घाँटी दुख्ने, सुक्खा खोकी लाग्ने, जोर्नी दुख्ने र कहिलेकाहिँ वाकवाक लाग्नेजस्ता समस्या लिएर बिरामी अस्पताल आउने गरेको र रगत परीक्षण गर्दा इन्फ्लुएन्जा बी पाइएको पुनको भनाइ छ ।

निर्देशक डा मरासिनीका अनुसार वर्षा लागेपछि हिलो र पानी जम्ने भएकाले यो समयमा सरुवा रोगको सङ्क्रमण बढी देखिने गरेको छ । उनले यसबाट बच्न भीडभाडमा नजाने, बाहिरबाट घर पुगेपछि साबुनपानीले हात धुने, सफा उमालेको पानी र सफा ताजा खानेकुरा खाने सल्लाह दिए ।

ज्वरो बढ्दै गएमा तुरुन्त अस्पतालमा गई जाँच गराउनुपर्ने उनले बताए । (रासस)