‘भारतीय दबाबमा’ ग्यास बुलेट खरिद रोकियो « Imagekhabar – Online News Portal of Nepal
२३ श्रावण २०७९, सोमबार | Mon Aug 8 2022


‘भारतीय दबाबमा’ ग्यास बुलेट खरिद रोकियो


0
Shares

काठमाडौं, साउन १७ । भारतीय ग्यास बुलेट ढुवानी व्यवसायीको दबाबमा आपूर्ति मन्त्रालयले नेपाली नम्बर प्लेटको एलपी ग्यास ढुवानी गर्ने बुलेट खरिद प्रक्रियामा रोक लगाएको छ ।

साउन ४ गते नेपाली नम्बर प्लेटको बुलेट खरिद गर्ने विषयमा नेपाल आयाल निगमले अनुमतिपत्र दिएलगत्तै मन्त्रालयले आफूखुसी साउन ५ गते बुलेट प्रक्रियामा रोक लगाएको हो ।

मन्त्रालयले ग्यास बोक्ने बुलेट सञ्चालनसम्बन्धी विनियमावली नभएको कारण देखाउँदै खरिद प्रक्रियामा रोक लगाएको हो । मन्त्रालय उच्च स्रोतका अनुसार बुलेट सञ्चालनसम्बन्धी विनियमावलीको बहानामा मन्त्रालयका जिम्मेवार अधिकारी र भारतीय बुलेट व्यवसायीको प्रभावमा उक्त खरिद प्रक्रिया रद्द गरिएको हो ।

भारतीय ढुवानी व्यवसायी संघका अध्यक्ष सतीश शर्माको नेतृत्वमा भारतबाट आएका बुलेट व्यवसायी रमेश बाद्रालगायतका व्यवसायीको दबाबमा मन्त्रालयका जिम्मेवार अधिकारीले नेपाली नम्बर प्लेटको बुलेट खरिद प्रक्रियामा रोक लगाएका हुन् ।

अध्यक्ष शर्मा करिब १० दिनदेखि राजधानीको सोल्टी होटलमा बस्दै आएका छन् ।

भारतका सातवटा ढुवानी व्यवसायीका सात सय बुलेट भाडामा लिएर नेपालका उद्योगीले भारतको चारवटा रिफायनरी केन्द्र करनाल, मथुरा, हल्दिया र बरौनीबाट ग्यास आयात गर्दै आएका छन् । यसबाट भारतीय व्यवसायीले ढुवानी खर्चबापत नेपालबाट वार्षिक दुई अर्ब ७५ करोड रुपैयाँ भुक्तानी लिदैं आएका छन् । भारतीय बुलेट व्यवसायी रमेश बाद्राले मात्रै नेपालमा दुई सय २० वटा बुलेटबाट ग्यास निर्यात गर्दै आएका छन् भने अध्यक्ष शर्माका करिब २२ वटा बुलेट प्रयोगमा छन् । –अन्नपूर्ण पोस्ट दैनिकबाट