
काठमाडौं, साउन १७ । अनेरास्ववियुले विभिन्न जिल्लामा बाढीपीडितका लागि राहत वितरण गरेको छ ।
अविरल बर्षापछि आएको बाढी पहिरोका कारण देशभर कयौंको मृत्यु हुनका साथै हजारौं परिवार विस्थापित भएको भन्दै अनेरास्ववियुले पीडित परिवारका लागि राहत वितरण गरेको हो ।
दुखद घडीमा अनेरास्ववियुद्वारा दुखेको घाउमा मलमपट्टी लगाउने प्रयास स्वरुप बाढी प्रभावित देशभरका विभिन्न जिल्लाहरुमा बाढी पीडितहरुको उद्धार तथा राहत वितरण कार्यक्रम अभियान सञ्चालन गरेको अनेरास्ववियुका प्रवक्ता सुदीप शर्माले जनाएका छन् ।
पहिलो दिनको अभियान अन्तर्गत साउन १६ गते मोरङ जिल्लाको डाइनीय गाविसको खनियावारी, पट्टियापाडा, प्रगतिनगर गाउका करिब ६ सय पीडित परिवारका लागि राहत सामाग्री वितरण गरेको उनले जनाए ।
अखिलकी अध्यक्ष नविना लामाको नेतृत्वको केन्द्रीय टोलीले उक्त राहत सामाग्री वितरण गरेको हो । अखिलले लत्ता कपडा, खाद्यन्न, औषधी लगायतका सामाग्री वितरण गरेको छ ।
यसैगरी अखिलको अभियान अन्तर्गत १७ गते सुनसरी र सप्तरी जिल्लाका विभिन्न स्थानमा राहत उद्धार र राहत वितरण गर्ने कार्यक्रमलाई निरन्तरता दिइने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्