२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


‘साउन १० यता बाढी–पहिरोमा परी १०२ जनाको मृत्यु, २२ जना बेपत्ता, ५८ घाइते’


0
Shares

काठमाडौं, साउन १७ । उपप्रधान, रक्षा एवं गृहमन्त्री भीमबहादुर रावलले यही साउन १० गतेयता देशका विभिन्न स्थानमा बाढी–पहिरो र डुबानका कारण १ सय २ जनाको मृत्यु जानकारी दिएका छन् ।

व्यवस्थापिका–संसदको सोमबार बसेको दोस्रो बैठकमा उनले देशका ४३ ओटा जिल्लाम बाढी, पहिरो र डुबानका कारण १ सय २ जनाको मृत्यु भएको, २२ बेपत्ता र ५८ जना घाइते भएको जानकारी दिए ।

तत्काल उद्धार, खोजी, र राहतका लागि विभिन्न मन्त्रालय, सुरक्षा निकाय, जिल्लास्थित प्रशासनिक कार्यालय परिचालित भएको भन्दै उनले रकम अभाव भएमा वा कुनै समस्या भएमा तत्काल खबर गर्न निर्देशन दिइएको पनि बताए ।

मन्त्री रावलले केन्द्रीय दैवीप्रकोप उद्धार समितिको साउन १३ गतेको बैठकबाट खाद्यान्न, लत्ताकपडा, भाँडाकुडा, औषधिलगायत सामग्री तत्काल पु¥याउन निर्देशन दिइएको, ७५ करोड थप रकमको शोधभर्नाका लागि निकासा गर्ने निर्णय भएको पनि जानकारी दिए ।

बैठकमा सांसदहरुले राखेका जिज्ञासाको जवाफ दिँदै उनले सप्तरीको तिलाठीस्थित सीमावर्ती नदीको बाँध भत्केपछि दुबैतर्फका जनता भेला भएको र त्यसक्रममा झडप हुँदा नेपाली नागरिक देवनारायण यादवलगायत घाइते भएको जानकारी दिए ।

यसअघि, बसेको संसद बैठकले एकीकृत माओवादीका पूर्वसभासद हरिराज लिम्बूको निधनमा शोकप्रस्ताव पारित गरेको थियो ।