नेपालगन्ज, वैशाख ६ । भारोत्तोलन खेलाडी संगीता राईले भारोत्तोलनको महिला ४९ केजी तौल समूहमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छन् ।
नेपालगन्जमा जारी आठौं राष्ट्रिय खेलकुदकाक्रममा शुक्रबार राईले स्न्याचतर्फ ५८ केजी तथा क्लीन एन्ड जर्कतर्फ ७५ केजी उचाल्दै कुल १३३ केजीको नयाँ कीर्तिमान बनाएकी हुन् ।
नेपाल पुलिस क्लबकी संगीताले आठौं राष्ट्रिय खेलकुदको प्रदेशस्तरीय छनोटकाक्रममा बनाएको कीर्तिमानमा सुधार गर्दै स्वर्णपदक जितेकी हुन् ।
उनले स्न्याच, क्लीन एन्ड जर्क र समग्र गरी तीनओटै विधामा नयाँ राष्ट्रिय कीर्तिमान राखिन् ।
यो स्पर्धामा प्रदेश नम्बर–१ की कृष्णा चौधरीले दोस्रो हुँदै रजत जितिन् भने प्रदेश नम्बर–५ कि पवित्रा थापामगरले तेस्रो हुँदै कास्यपदक हासिल गरिन् ।
भारोत्तोलनकै पुरुष ५५ केजी तौल समूहमा त्रिभुवन आर्मी क्लबका तुलाराम महतोले स्वर्णपदक जिते ।
स्न्याचतर्फ ८० केजी तथा क्लीन एन्ड जर्कतर्फ ९५ केजी उचालेका महतोले समग्रमा १७५ केजीको भारसहित स्वर्ण जितेका हुन् ।
यो स्पर्धामा पुलिस क्लबका गणेश रानाभाट दोस्रो हुँदा सुदूरपश्चिम प्रदेशका रविलाल चौधरी तेस्रो भए ।
यसैगरी, महिला ४५ केजी तौल समूहमा आर्मी क्लबकी रिता गुरुङले स्वर्णपदक जित्दा प्रदेश–५ का हिरामती चौधरी दोस्रो तथा प्रदेश नम्बर–२ की काजल सदा तेस्रो भइन् ।








प्रतिक्रिया दिनुहोस्