बेलायतमा कुमार लामालाई एउटा मुद्दामा सफाइ « Imagekhabar – Online News Portal of Nepal
२९ श्रावण २०७९, आईतवार | Sun Aug 14 2022


बेलायतमा कुमार लामालाई एउटा मुद्दामा सफाइ


0
Shares

काठमाडौं, साउन १८ । नेपाली सेनाका कर्णेल कुमार लामाले आफूविरुद्ध बेलायतमा लगाइएको यातनासम्बन्धी दुईमध्ये एउटा मुद्दामा सफाइ पाएका छन् ।

सरकार–माओवादी सशस्त्र द्वन्द्वताका सैनिक व्यारेकमा थुनामा रहँदा लामाले आफूलाई चरम यातना दिएको भन्दै बन्दी करम हुसेनले मुद्दा दायर गरेका थिए ।

सोमबार लन्डनस्थित सेन्ट्रल क्रिमिनल कोर्ट (फौज्दारी अदालत) ओल्ड बेलीमा जस्टिस स्वीनीको इजलासले हुसेनको मुद्दामा सफाइ दिएको हो ।

तर, अर्का बन्दी जनकबहादुर राउतको लामाविरुद्धको यातनासम्बन्धी मुद्दामा भने १२ सदस्यीय जुरी सोमबारसम्म टुंगोमा पुग्न नसकेपछि आगामी सेप्टेम्बर पहिलो साता पुनः इजलास बस्ने गरी स्थगित भएको श्रोतले जानकारी दिएको छ ।

जुरीबीच १०, २ वा ११, १ को मत आवश्यक हुन्छ । ओल्ड बेलीमा करिब सात साताको सुनुवाइपछि गत सोमबारदेखि जुरीबीच डेलिबरेसन (गहन छलफल) चलिरहेको थियो ।

करिब एक साताको डेलिबरेसनमा पनि जुरीले राउतको मुद्दामा लामालाई निर्दोष वा दोषी के भन्नेबारे फैसला दिन नसकेपछि इजलास करिब ५ साता पर सरेको हो ।

लामाको मुद्दा गत वर्ष अभियोजन पक्षले दोभाषे नभेट्टाएपछि सुनुवाइ स्थगित भएको थियो । लामाको तर्फबाट किङ्सले नेप्ली फर्मले मुद्दा हेरिरहेको छ । –कान्तिपुर दैनिकबाट