
काठमाडौं, साउन १८ । नयाँ प्रधानमन्त्रीका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उम्मेदवारी दर्ता गरेका छन् ।
आफ्ना समर्थक दलका नेताहरुका साथ संसद भवनको ल्होत्से हल पुगेर प्रचण्डले उम्मेदवारी दर्ता गराएका हुन् ।
प्रचण्डलाई प्रधानमन्त्री निर्वाचित गरियोस् भन्ने प्रस्तावकमा कांग्रेस सभापति शेरबहादुर देउवा छन् भने समर्थकमा कृष्णबहादुर महरा, जयदेव जोशी, कुमार खड्का, चन्द्रेश्वर झाका साथै मधेसी मोर्चाका सांसदहरु रहेका छन् ।
उम्मेदवारी दर्ताका लागि विहान ११ बजेदेखि अपराह्न ४ बजेसम्मको समय तोकिए पनि सत्ताबाट बाहिरिन लागेको नेकपा एमालेले भने प्रधानमन्त्रीमा पार्टीका तर्फबाट उम्मेदवारी नदिने निर्णय गरेकाले प्रचण्डको मात्र उम्मेदवारी पर्न सक्ने देखिएको छ ।
उमेद्वारको अन्तिम सूची भने अपराह्न साढे ४ बजे प्रकाशन गरिने छ । दलहरुले सहमतीय सरकार बनाउन नसकेपछि राष्ट्रपति बिद्यादेवी भण्डारीले बहुमतीय पद्धती अनुसार प्रधानमन्त्री चयन गर्न आह्वान गरेपछि संसदले नयाँ प्रधानमन्त्री चयनका लागि बहुमतीय बाटो अबलम्बन गरेको हो ।
प्रतिक्रिया दिनुहोस्