८ श्रावण २०८२, बिहिबार | Thu Jul 24 2025


तिनाउको बाढीले ‘एसियाकै नमुना’ सिँचाइ प्रणाली नै बन्द, सयौं किसान नहर खुलाउन जुटे (भिडियो)


0
Shares

केशव भण्डारी (इमेज)
बुटवल, साउन ४ । तिनाउ नदीमा आएको बाढीले दक्षिण एसियाकै नमुना सिँचाइ प्रणाली बन्द भएपछि रुपन्देहीका सयौं किसान नहर खुलाउन श्रमदानमा जुटेका छन् ।

बाढीले बाँध भत्किँदा झन्डै १० हजार हेक्टर खेतमा सिँचाइ ठप्प भएपछि चिन्तित बनेका किसान आफैं नहर बनाउन खटिएका हुन् ।

रुपन्देहीमा तिनाउँ नदीमा गत साता आएको बाढीले दक्षिण एसियाकै नमुना मानिने सोह्र छत्तीस संयुक्त सिँचाइ प्रणालीको मुहान बगाएपछि चिन्तित बनेका किसानहरु आफैं बाँध बनाउन जुटेका हुन् ।

बाढीले बुटवलस्थित तपाहामा रहेको नहरको मुलमा बनेको २ सय ५० मिटर लामो पर्खाल भत्काएको छ ।

सिँचाइ सेवा बन्द भएपछि १० हजारभन्दा बढी हेक्टरमा भर्खर गाँज हाल्न लागेको धान सुक्ने चिन्ता बढेपछि किसानहरु कुटो, कोदाला र अन्य घरेलु उपकरण बोकेर मुल बनाउन र पुरिएको नहर खोल्न लागेका हुन् ।

नहर बनाउन दैनिक पाँच सयभन्दा बढीले श्रमदान गरिरहेका छन् । सरकारी निकाय मौन भएपछि किसानहरु आफैं उत्रिएको उनीहरु बताउँछन् ।

बाढीले नहरमा २ करोडभन्दा बढी नोक्सान भएको सोह्र छत्तीस संयुक्त सिँचाइ प्रणाली व्यवस्थापन समितिका उपाध्यक्ष विष्णुप्रसाद भट्टराई बताउँछन् । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्)