८ श्रावण २०८२, बिहिबार | Thu Jul 24 2025


पहिरोले नहर भत्काउँदा विद्युत्सेवा अवरुद्ध, ६७७ परिवार अन्धकारमा


0
Shares

शैलेन्द्र रोकाया (इमेज)

बझाङ, साउन १८ गते । सेती लोकमार्ग सडक निर्माणकाक्रममा पहिरो जाँदा करोडौंको लागतमा निर्माण भएको विद्युत्को नहर भत्किएर बझाङको पटादेवल गाविसमा विद्युत्सेवा अवरुद्ध भएको छ ।

डोजर लगाएर सडक कटान गर्दा सिउडीगाड लद्युजलविद्युत् आयोजनाको नहर सडकले भत्काइदिएपछि पाटादेवल गाविस वडा नम्बर–१ देखि ६ सम्मका ६ सय ७७ घरपरिवार अन्धकारमा बस्न बाध्य भएका हुन् ।

वि.सं. २०६३ सालमा वैकल्पिक उर्जा डोटी र स्थानीयहरुको जनश्रमदान गरी झन्डै ३ करोड रुपैयाँको लागतमा निर्माण भएको विद्युत्को नहरको बाँधदेखि सबै नहर पहिरोले भत्काउँदा ५० किलोवाट क्षमता भएको सिउडीगाड लद्युजलविद्युत् आयोजना पूर्णरुपले क्षतिग्रस्त हुँदा विद्युत्सेवा बन्द भएको आयोजनाका अध्यक्ष प्रेम आग्रीले बताए ।

‘सर्वेक्षण गर्दा नै विद्युत्गृह तथा नहर बचाएर सडक काट्नका लागि पहल गरेको भएपनि सर्वे गर्ने इन्जिनियरको बेवास्ताका कारण यस्तो अवस्था आएको हो’–अध्यक्षले आग्रीले भने ।

सेती लोकमार्गलाई विद्युत्को नहर, बाँधलगायतका बिग्रेका संरचना सुधार गरिदिन बारम्बार आग्रह गरेको भएपनि सेती लोकमार्गले ‘डिजाइन स्टमेट’मा नराखेकाले तत्काल बनाउन नसक्ने बताएपछि निराश भएको उनले बताए ।

विद्युत्सेवा अवरुद्घ भएपछि गाउँका भएका स–सना उद्योगधन्दासमेत अलपत्र परेका छन् ।

पुंगरबंसी थापा फर्निचर उद्योगका सन्चालक गणेश थापाले विद्युत्सेवा अवरुद्घ भएपछि लाखौंको व्यापार चौपट भएको बताए ।

विद्युत्सेवा अवरुद्घ भएसँगै स्थानीय विद्यालयमा पढाइ हुँदै आएको कम्प्युटर शिक्षासमेत प्रभावित भएको छ ।

पाटादेवल गाउँमा भएका उद्योगधन्दा बन्द भएका छन् भने सामान्य मोबाइल चार्ज गर्नका लागिसमेत विद्युत् नहुँदा स्थानीयले हैरानी खेप्नुपरेको छ ।

सेती लोकमार्ग सडक कटानकाक्रममा भत्किएको नहर सडक डिभिजन कार्यालयले नै बनाइदिनुपर्ने स्थानीयबासीले माग गरेका छन् ।

उनीहरुले तत्कालै विद्युत् सुचारु नगरिदिए सडक निर्माणको काम रोकिदिने चेतावनी पनि दिएका छन् ।

सेती लोगमार्ग सडक डिभिजन कार्यालयले भने सो नहरको काम आफूले नै गरिदिने तर तत्काल नहुने भन्दै सडकको काम बाँकी नै रहेका कारण नहर बनाउन केही समय लाग्ने बताएको छ ।