१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


प्रस्तावित पाँच राजदूतको संसदीय सुनुवाइ सकियो


0
Shares

काठमाडौं, साउन १८ । व्यवस्थापिका–संसद, संसदीय सुनुवाइ विशेष समितिले विभिन्न मुलुकका लागि प्रस्तावित पाँच राजदूतको मंगलबार संसदीय सुनुवाइ गरेको छ ।

समितिले परराष्ट्र सेवामा रहेका प्रस्तावित राजदूतमध्ये सेवा लम्साल अधिकारी, ताराप्रसाद पोखरेल, प्रकाशकुमार सुवेदी, डा. दुर्गाबहादुर सुवेदी र ऋषिराम घिमिरेको संसदीय सुनुवाइ गरेको हो । उनीहरु पाँचैजना परराष्ट्र मन्त्रालयका सहसचिव हुन् ।

लम्साललाई पाकिस्तान, पोखरेललाई ब्राजिल, सुवेदीलाई संयुक्त राष्ट्रसंघको कार्यालय भियना, डा. दुर्गालाई संयुक्त अधिराज्य र घिमिरेलाई रुसी महासंघका लागि नेपाली राजदूतमा सिफारिस गरेर सरकारले सुनुवाइ गर्न समितिमा पठाएको हो ।

संसदीय सुनुवाइकाक्रममा प्रस्तावित राजदूतले आ–आफ्नो कार्ययोजना र सोच प्रस्तुत् गर्दै आफू खटिएर जाने मुलुकसँगको सम्बन्धलाई थप विकास र विस्तार गर्नुकासाथै आर्थिक कूटनीतिलाई जोड दिने प्रतिबद्धता जनाए ।

उनीहरुले भने–‘नेपालको इज्जत र प्रतिष्ठा बनाउनेतर्फ नै हाम्रो ध्यानकेन्द्रित हुनेछ । शान्ति र विकासका लागि आवश्यक पहल गरिनेछ । सम्बन्धका विभिन्न आयाम पहिल्याइने छ । यातायात क्षेत्रमा सम्पर्क सन्जाल विस्तार गन ध्यान दिइनेछ ।’

राजदूतमा सिफारिस भएका परराष्ट्र सेवाका तीनजनाको बुधबार बिहान सुनुवाइ गर्ने समितिले कार्यसूची बनाएको छ ।

सहसचिवत्रय रमेशप्रसाद खनाललाई जर्मनी, झविन्द्रप्रसाद अर्याललाई इजिप्ट र लोकबहादुर थापालाई बेल्जियम र युरोपेली संघका लागि राजदूतमा प्रस्ताव गरिएको छ ।

सरकारले परराष्ट्र सेवाभन्दा बाहिरबाट थप १४ जनालाई राजदूतका लागि प्रस्ताव गरेको छ । रासस