१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


दलालको चंगुलमा श्रीलंका पुगेका ९० नेपाली महिला अलपत्र


0
Shares

काठमाडौं, साउन १९ । इराक, कुबेत, ओमनजस्ता मुलुकमा धेरै आम्दानी हुने काम लगाइदिन्छु भन्दै श्रीलंका पुर्‍याइएका ९० जनाभन्दा बढी नेपाली महिलालाई त्यहाँको एउटा घरमा थुनेर राखिएको छ ।

‘मलाई सन्चो पनि छैन, अब यहीँ आत्महत्या गर्छु’ भन्दै रोइकराइ गरेपछि श्रीलंकाबाट नेपाल फर्कन सफल ४१ वर्षीया मनमाया दनुवारले त्यहाँ अलपत्र दिदीबहिनीको उद्धार गरिदिन सरकारलाई गुहारेकी छन् ।

उदयपुर गाइघाटकी मनमायाले गत असार १० गते एजेन्टलाई दुई लाख रुपैयाँ बुझाएपछि त्यसको भोलिपल्ट बिहानै उनलाई स्वयम्भूबाट नयाँ दिल्ली जाने बस चढाएर भारत पुर्‍याइएको थियो । नयाँ दिल्लीमा तीन रात राखेर उनी लगायत अन्य १७ जनालाई हवाइजहाजबाट नै श्रीलंका लगिएको थियो ।

श्रीलंकामा बस्न पाउने ३० दिनको भिसा सकिइसकेको छ भने अन्य सबै महिला पनि अनुमतिभन्दा धेरै दिन बसिरहेका छन् ।

श्रीलंका विमानस्थलमा उनीहरुलाई लिन एउटा अरबी युवक आयो र अत्यन्तै द्रुत गतिमा चलाइएको गाडीमा करिब साढे तीन घण्टाको यात्रापछि एउटा भुइँतले घरमा पुर्‍यायो । त्यहाँ अन्य थुप्रै महिलालाई भेडाबाख्राजस्तै गरी कोचेर राखिएको दृष्यले उनको विदेश जाने आस त्यहीँ टुंगियो ।

आठकोठे उक्त भवनका जम्मा तीनवटा कोठामा नेपाली महिलालाई राखिएको थियो । चिसो भुइँमा तन्ना ओछ्याएर सुत्नुपरेकाले धेरैलाई स्वास्थ्य समस्या आए पनि औषधिउपचार केही नपाइने गरेको उनले बताइन् ।

मनमायाका अनुसार त्यहाँ अलपत्र पर्नेमा १७ वर्षदेखि ५६ वर्षसम्मका महिला छन् । ‘केही सुन्दर महिलालाई त बेलुकी ११ बजेदेखि ३ बजेभित्रै कतै लैजान्छन्, त्यता लगेपछि ती फर्केर आएको देखिएन,’ उनले भनिन् । –अन्नपूर्ण पोस्ट दैनिकबाट