
काठमाडौं, साउन १९ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं सांसद पुष्पकमल दाहालले राष्ट्र र जनताको हितमा लागिरहने प्रतिज्ञा गरेका छन् ।
व्यवस्थापिका–संसदको बुधबारको बैठकमा सांसद पुष्पकमल दाहालले नेपालको संविधानको धारा २९८ को उपधारा (३) एवं व्यवस्थापिका–संसद नियमावली, २०७३ को ४९ उपनियम (४) बमोजिम नेपालको प्रधानमन्त्री पदमा आफ्नो उम्मेदवारीको सूचना प्रस्तुत् गर्दै राष्ट्रिय मुद्दामा सहमति कायम गरेर देशलाई विकास निर्माणको बाटोमा अघि बढाउन आफू इमान्दारीपूर्वक लाग्ने प्रतिबद्धता व्यक्त गरे ।
राष्ट्र र जनताको हितमा भएका सबै सन्धि–सम्झौता र विकास परियोजना सन्चालन गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
विकास निर्माणको काम अगाडि बढाउन स्रोत देखाइदिन आग्रह गर्दै अध्यक्ष दाहालले भने–‘प्रधानमन्त्रीज्यू स्रोत देखाइदिनोस्, हामी त्यसलाई उपयोग गरेर हामी विकासको नयाँ खाका ल्याउन तयार छौं ।’
राष्ट्रिय संकल्प झल्कने विकासको रणनीतिक खाका तयार गर्न राजनीतिक नेतृत्वले गम्भीर हुन आवश्यक रहेको उनको भनाइ थियो ।
विनियोजन गरेअनुरुपमा विकास कार्यक्रम हुबहु कार्यान्वयन गरिने स्पस्ट पारे ।
दुई वर्षभित्र कृषि र ऊर्जामा आत्मनिर्भर बनाउने योजना, जिल्ला सदरमुकाममा विकास निर्माण, सामाजिक सुरक्षाका कार्यक्रम, निजगढ, गौतमबुद्ध विमानस्थल जस्ता महत्वपूर्ण कार्यक्रम हुबहु कार्यान्वयन गरिने र बजेट नभएको ठाउँमासमेत बजेट थप गरेर राष्ट्रमुखी बनाउनेमा जोड दिए ।
गणतन्त्र, समावेशी, समानुपातिक, धर्मनिरपेक्षताजस्ता विषय परिवर्तनका खास एजेन्डा भएकाले त्यसलाई संस्थागत गर्दै जाने उनको कथन थियो ।
देश निर्माणको नयाँ शैलीको खोजी गर्नुपर्ने उल्लेख गर्दै नयाँ नेपालको वास्तविक गोरेटो कोर्न १० वर्ष लागेको र विगतको अनुभव संश्लेषणका आधारमा सबै नेपाली र राजनीतिक दलले संकल्प गर्नुपर्ने स्पस्ट पारे ।
चीन, भारतमा आउने पर्यटकलाई नेपाल भित्र्याउन विशेष पहल गर्नुपर्नेमा जोड दिँदै भौतिक पूर्वाधारले व्यवस्थापन गर्न सकिए नेपाल आर्थिक समृद्धिको दिशामा अगाडि बढ्ने विश्वास व्यक्त गरे ।
हामी सबैले संस्कार शैलीमा परिवर्तन गर्दै उद्योग, परराष्ट्र, ऊर्जामा रणनीतिक समझदारी आवश्यक रहेको अध्यक्ष दाहालको भनाइ थियो ।
आफ्नोबारेमा आत्मसमीक्षा गर्दै अध्यक्ष दाहालले भने–‘आफू जहिले पनि राष्ट्र र जनताको पक्षमा लडिरहन्छु, त्यसमा कुनै शंका छैन ।’ रासस
प्रतिक्रिया दिनुहोस्