९ श्रावण २०८२, शुक्रबार | Fri Jul 25 2025


पाँच दिनदेखि विद्युत् अवरुद्ध, नागरिक आक्रोशित


0
Shares

                                                      फाइल फोटो

खोटाङ, साउन १९ । खोटाङ र ओखलढुंगामा पाँच दिनदेखि विद्युत् अवरुद्ध भएपछि स्थानीय नागरिक आक्रोशित भएका छन् ।

गत शनिबारदेखि गाईघाट–दिक्तेल ३३ केभी विद्युत् प्रशारणलाइन अवरुद्ध भएपछि सर्वसाधारण मर्कामा परेका हुन् ।

आक्रोशित नागरिकले विद्युत् प्राधिकरणको कार्यालय दिक्तेल गएर तत्काल विद्युत् सुचारु गराउन ध्यानाकर्षण गराएका छन् ।

प्राधिकरणबाट बेलुकासम्ममा विद्युत् सुचारु हुने जवाफ पाएपछि आक्रोशित स्थानीय फर्किएको गोपालचन्द्र आचार्यले बताए ।

विद्युत् अवरुद्ध हुँदा जिल्लास्थित सरकारी तथा गैरसरकारी कार्यालय, वित्तीय संस्था, फोटो तथा फोटोकपी व्यवसाय तथा निजी कामकाज प्रभावित भएको छ ।

लामो समयम्म विद्युत् अवरुद्ध भएपछि खोटाङका ३९ गाविसका आठ हजार ८५३ उपभोक्ताका साथै छिमेकी जिल्ला ओखलढुंगाको जनजीवन प्रभावित भएको हो ।

विद्युत् नआउँदा खोटाङ जिल्लाबाट हरेक शुक्रबार प्रकाशित हुँदै आएको हलेसी खबर साप्ताहिक, आइतबार प्रकाशित हुँदै आएको रुपाकोट खबर साप्ताहिक र हरेक सोमबार प्रकाशित हुँदै आएको खोटाङ खबर साप्ताहिक पत्रिका प्रकाशन हुनसकेको छैन ।

लामो समयसम्म विद्युत् अवरुद्ध भएपछि जिल्लामा सन्चालन हुँदै आएका हलेसी एफएम र रुपाकोट एफएमको प्रशारणसमेत बन्द भएको छ ।

उदयपुरको रसुवादेखि साउनेबीचमा ‘फल्ट’ भएकाले विद्युत् अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण शाखा खोटाङले जनाएको छ ।

हालसम्म फल्ट भएको स्थान पत्ता लाग्न नसकेको प्राधिकरणका निमित्त प्रमुख सुदिप ज्ञवालीले बताए । रासस