
फाइल फोटो
काठमाडौं, साउन १९ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष भीमबहादुर रावलले नयाँ सत्ता गठबन्धनका लागि गरिएको संविधान संशोधनको प्रस्ताव आफूहरुलाई मान्य नहुने बताएका छन् ।
व्यवस्थापिका–संसदको बैठक परिसरमा पत्रकारसँग कुरा गर्दै रावलले वर्तमान संविधानलाई प्रतिगामी भन्ने मधेसी दलले प्रधानमन्त्रीको निर्वाचनका लागि मतदानमा सहभागी भइसकेपछि संविधान संशोधनको प्रस्तावको अर्थ नहुने पनि दाबी गरे ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र मधेसी मोर्चाबीच बुधबार संविधान संशोधनलगायत तीनबुँदे सहमति भइ प्रधानमन्त्रीका उम्मेदवार पुष्पकमल दाहाललाई समर्थन गर्ने उल्लेख छ ।
नेता रावलले प्रश्न गरे–‘केका लागि संविधान संशोधन गर्ने हो ? त्यो स्पस्ट हुनुपर्यो । यो मुलुकलाई जातीय वा एक मधेस एक प्रदेशका आधारमा जाने हो भने त्यो हामीलाई मान्य छैन । जनताको स्वाभिमान र राष्ट्रिय स्वाधिनतामा खतरा उत्पन्न हुने गरी सत्ताको खेलका लागि यस्ता प्रस्ताव आएका छन् ।’
उनले सेना र गुप्तचर निकायमासमेत समावेशीकरण हुने मुलुक नेपालमात्र रहेको उल्लेख गर्दै नागरिकताका सवालमा पनि भारतमाभन्दा उदार व्यवस्था रहेकाले ती विषयमा पनि संविधान उपर्युक्त भएको बताए । रासस
प्रतिक्रिया दिनुहोस्