Logo १० बैशाख २०८३, बिहिबार | Fri Apr 24 2026


उड्दा–उड्दै विमानको इन्जिन बन्द भएपछि…


0
Shares

                                                                      फाइल फोटो

हरिबहादुर रावत (रासस)

हुम्ला, साउन २० । हुम्लाबाट सुर्खेत जाँदै गरेको मकालु एअरको ‘नाइनएनएकेसी’को विमानको इन्जिनमा खराबी आएपछि विहीबार आपराह्न सिमीकोट गाविसको राउटेराना भन्ने स्थानमा दुर्घटना भएको छ ।

सिमीकोट विमानस्थलबाट सुर्खेतका लागि ३ः३० बजे उडेको करिब पाँच मिनेटमै विमानको इन्जिन एक्कासि बन्द हुँदा सुरक्षित अवतरण गर्नेक्रममा दुर्घटना भएको हो ।

‘११ हजार ५०० फिटको उचाइमा रहेको विमानको एक्कासि इन्जिन बन्द भयो, पुनः स्टार्ट गर्न खोज्यौं भएन, त्यसपछि सुर्खेत पुग्न पनि टाइम लाग्ने र हुम्ला फर्कन पनि नसक्ने अवस्था आएपछि विमानलाई कर्णाली नदीमा सुरक्षित अवरण गर्न खोज्दा दुर्घटना भयो’–पाइलट सांगे लामाको भनाइ उद्धृत गर्दै प्रमुख जिल्ला अधिकारी डा. कृष्णबहादुर घिमिरेले राससलाई जानकारी दिए ।

‘विमानलाई खोलामा सेफ ल्यान्डिङ गर्दा दुबैजना बहोस भयौं, केहीबेरमा होस आएर पौडिँदै खोलाबाहिर निस्कन सफल भयौं’–चालक लामाले भने ।

घटनालगत्तै सिमीकोटमा रहेको सिम्रिक एअरको हेलिकोप्टरले घाइते चालकको उद्धार गरेको थियो ।

दुर्घटनामा दुबै पाइलट सामान्य घाइते भएको र जिल्ला अस्पताल हुम्लामा उपचारपछि अहिले थप स्वास्थ्य परीक्षणका लागि सोही हेलिकोप्टरमार्फतै नेपालजन्ज मेडिकल कलेज पठाइएको डा. घिमिरेले जानकारी दिए ।

दुर्घटनाग्रस्त विमानलाई कर्णाली नदीले बगाएको जानकारी आफूहरुले पाएपनि घटनास्थलबाट थप जानकारी नआएको उनले बताए ।