
काठमाडौं, साउन २० । साताको अन्तिम दिन विहीबार शेयरबजारमा उच्च गिरावट आयो ।
साताभर बजार ऋणात्मक रहँदै आएपनि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा नयाँ सरकार गठन भएकै दिन शेयरबजारमा ४५ अंकको उच्च गिरावट आयो । नेप्से १७ सय ६५ मा आइपुग्यो ।
यसदिन पनि कारोबार भएका सबै समूह ऋणात्मक रहे । बीमा समूहमा सबैभन्दा उच्च ३ सय अंक बराबर गिरावट आयो ।
होटल समूह पनि १ सय २ अंकले झर्यो । जलविद्युत् समूह ५८ अंकले ओरालो लाग्यो । विकास बैंक समूह ५२ अंक र उत्पादनमूलक समूह पनि ५१ अंकले ओर्लिए । वाणिज्य बैंक समूह पनि ४० अंक बराबरले झर्यो । वित्त र अन्य समूह पनि दोहोरो अंकले घटे ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ४२ कम्पनीको साढे २७ लाख कित्ता शेयर डेढ अर्ब रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्