पाइलट सांगे लामा
नृप हमाल (इमेज)
हुम्ला, साउन २० । हुम्लाको राउते रानामा विहीबार मकालु एअरलाइन्सको ‘नाइन एनएकेसी’ कलसाइन भएको सिंगल इन्जिन विमान ‘फोर्स ल्यान्डिङ’ गरिएको छ ।
विहीबार अपराह्न ३ बजेर ४० मिनेटमा हुम्लाको सिमीकोटबाट सुर्खेतका लागि उडेको विमानमा उडेको पाँच मिनेटमै इन्जिनमा खराबी आएपछि कर्णाली नदीमा फोर्स ल्यान्डिङ गरिएको हो । विमान नदीले बगाएको छ ।
विमानमा सवार पाइलट सांगे लामा र को–पाइलट प्रशान्त शाह भने नदीमा हामफालेर बाँच्न सफल भएका छन् । विमानमा दुईजनामात्र सवार थिए ।
सामान्य घाइते अवस्थामा दुबैजनालाई सकुशल उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय हुम्लाले जनाएको छ ।
दुबैजनालाई थप उपचारको लागि सिम्रिक एअरको हेलिकोप्टरबाट नेपालगन्ज लगिएको छ ।
उक्त विमान सुर्खेतबाट कार्गो लिएर सिमीकोट आएर फेरि सुर्खेत नै फर्कंदै थियो । घटनास्थल हुम्लाको सिमीकोट गाविस र खार्पुनाथ गाविसको सीमाना रहेको छ ।









प्रतिक्रिया दिनुहोस्