
चन्द्रनिगाहपुर, साउन २१ । सडक मर्मतका लागि आएको रकम डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुरले एक आयल स्टोर्सलाई दिएको खुलासा भएको छ ।
चार वर्षदेखि मर्मत हुन नसकेको पूर्व–पश्चिम राजमार्ग जोड्ने नवलपुर–मलंगवा सडकखण्डको मर्मतका लागि विनियोजित रकम डिजिजन सडक कार्यालयले चन्द्रनिगाहपुरमा रहेको अरुण आयल स्टोर्सलाई दुई पटक गरी १० लाख रुपैयाँ पेस्की दिएको खुल्न आएको हो ।
त्यसको पुष्टि डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुरका प्रमुख अरबिन्द गुप्ताले गरेका छन् । सडक मर्मतका लागि आएको रकम गत आर्थिक वर्षमा फ्रिज हुने भएपछि सडकको काम शुरु भएपछि डिजल, पेट्रोलबाट कटाउने भन्दै अरुण आयल स्टोर्सलाई दिइएको खुलेको छ ।
पूर्व–पश्चिम राजमार्गमा जोड्ने नवलपुर–मलंगवा सडक खण्ड जीर्ण भएर खाडल भएका कारण यात्रुहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । भारतीय ठेकदार भिस्वा कन्स्ट्रक्सनले सडक कालोपत्रेको ठेक्का चार वर्ष अघि नै पाएको भए पनि काम नै नगरी छाडेपछि सडक मर्मतसमेत हुन सकेको छैन ।
प्रतिक्रिया दिनुहोस्