९ श्रावण २०८२, शुक्रबार | Fri Jul 25 2025


१५ करोडको भारतीय गुट्खा भित्रियो


0
Shares

पर्सा, साउन २१ । वीरगन्ज नाकाबाट बर्सेनि रु १५ करोडभन्दा बढीको भारतीय गुट्खा अवैधरुपमा भित्रिने गरेको छ ।

खुला सीमानाका कारण भरियामार्फत् सो गुट्खा भित्रिने गरेको छ ।

बिहार सरकारले राज्यमा गत अप्रिल महिनादेखि गुट्खाको उत्पादन, बिक्री–वितरण र सेवनमा प्रतिबन्ध लगाएपछि तस्करले उत्तर प्रदेशको लखनउ र गोरखपुरबाट गुट्खा र पानमसाला आयात् गर्दै आएका छन् ।

वीरगन्जमा दैनिक रजनीगन्धा, राजनीवास, तुलसी र अरु ब्रान्डका गुट्खा आयात् हुने गरेको नेपाल राष्ट्रिय पान व्यवसायी संघका केन्द्रीय अध्यक्ष लालबहादुर वरै बताउँछन् ।

वीरगन्जमा दैनिक रजनीगन्ध तुल्सी ५० किलो, राजनिवास एकसय किलो र अरु गुट्खा करिब ५० किलोको परिमाणमा खपत हुने गरेको पाइएको छ ।

वीरगन्जमा गत आवमा राजस्व तिरेर रु ४३ हजार ४९ मूल्यको २० किलो भारतीय गुट्खा आयातकर्ताले भित्र्याएको भन्सार कार्यालय प्रमुख सेवन्तक पोखरेलले बताए ।

अघिल्लो आवमा भारतीय गुट्खाबाट रु २८ हजार राजस्व संकलन भएको थियो ।

भारतबाट एक किलो गुट्खा आयात् गर्दा रु ३७५ अन्तःशुल्क, ३० प्रतिशत भन्सार महसुुल र १३ प्रतिशत मूल्य अभिबृद्धि कर (भ्याट) गरी कुल रु एक हजार ४३३ राजस्व बुझाउनुपर्ने भन्सार कार्यालयले जनाएको छ ।

गत आवमा वीरगन्जबाट प्रहरीले रु एक करोड ७५ लाख मूल्यको अवैध भारतीय गुट्खा बरामद गरेको थियो ।

गत आवमा पानमन्डीबाट रु ७० लाख, रजतययन्ती र कुम्हाल टोलबाट रु ५५ लाख र आदर्शनगरबाट रु ५० लाख बराबरको भारतीय गुट्खा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले जानकारी दिए । रासस