९ श्रावण २०८२, शुक्रबार | Fri Jul 25 2025


३० करोडमा ९ म्याग्निच्यूडको भूकम्प धान्ने दुईओटा भवन बनाउँदै कामपा


0
Shares

काठमाडौं, साउन २१ । काठमाडौं महानगरपालिकाले टेकुमा अन्तर्राष्ट्रिय मापदन्डअनुसारको भूकम्पप्रतिरोधी दुईओटा भवन निर्माण गर्ने भएको छ ।

हाल कामपाको कार्यालय रहेको बाघदरबारको भवन भूकम्पले क्षति पुर्‍याएको भएपनि पुरातत्व विभागले भत्काएर अर्को बनाउने अनुमति नदिएकाले आफ्नै जग्गा टेकुमा आधुनिक र सुविधासम्पन्न भवन निर्माण गर्न लागिएको कामपाको प्रवक्ता ज्ञानेन्द्र कार्कीले बताए ।

सात रोपनी जग्गामा बन्न लागेको उक्त भवनको छिटै शिलान्यास हुने प्रवक्ता कार्कीले जानकारी दिए ।

९ म्याग्निच्यूडसम्मको भूकम्प धान्नसक्ने ती भवनको नक्सांकनसमेत तयार गरिसकेको छ ।

भूकम्पपछि आफ्नो कार्यालय जेडिए कम्प्लेक्समा सन्चालन गर्दै आएको कामपाले मासिक करिब रु १० लाख भाडा तिर्दै आएको छ ।

टेकुस्थित नगर प्रहरी ब्यारेकनजिकै निर्माण गर्न लागिको उक्त भवनको लागि रु ३० करोड लागत लाग्ने अनुमान कामपाले गरेको छ ।

अबको एक वर्षभित्र भवन निर्माण सम्पन्न गर्ने गरी कामअघि बढाइने बताइएको छ ।

‘गोरखा भूकम्प’ले क्षति पुर्‍याएको बाघदरबारको भवनलाई पुरातत्व विभागले मर्मत–सम्भार गरेर सन्चालन गर्न अनुमति दिएकाले सोहीअनुरुप सन्चालन गर्ने तयारी कामपाको छ । रासस