Logo १३ बैशाख २०८३, आइतबार | Sun Apr 26 2026


आमासँगै बेपत्ता तीन सन्तान भेटिएनन्


0
Shares

बैतडी, साउन २२ । बेपत्ता भएको पाँच दिनपछि आमा मृत अवस्थामा भेटिए पनि उनीसँगै हिँडेका तीन सन्तान सात दिनसम्म पनि भेट्टिन सकेका छैनन् ।

बेपत्ता हुनेमा बझाङ दहबगर–२ का जयमल बोहराका ५ वर्षीय छोरा अम्मर, ७ वर्षीया छोरी कमला र ११ वर्षीय छोरा प्रकाश रहेका प्रहरीले बताएको छ ।

यही साउन १५ गते शनिबार श्रीमान् जयमलसँग झगडा भएर घरबाट निस्किएकी २८ वर्षीया गोमा बोहरा पाँच दिनपछि बुधबार स्थानीय सङ्घार खोलामा मृत अवस्थामा फेला परे पनि तीन छोराछोरीको अवस्था अझै अज्ञात रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए ।

बेपत्ता तीन छोराछोरीको स्थानीय सङ्घार खोलामा खोजी कार्य भइरहेको छ प्रहरी नायब उपरीक्षक चन्दले रासससँग भने, “लगातार पानी परिरहेकाले खोजी कार्य प्रभावित भइरहेको छ ।”
खोला घटेपछि खोज्न सजिलो हुने बताइएको छ ।

खोजीमा २५ जना प्रहरी परिचालन

घरबाट बेपत्ता भएको आठ दिन भइसक्दा समेत तीन जना बालाबालिकाको खोजीका लागि ठूलो मात्रामा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बुंगलबाट प्रहरी नायब निरीक्षक राधाकृष्ण नाथसहितको सात जनाको टोली र प्रहरी चौकी विजगडा, प्रहरी चौकी बागथला र प्रहरी चौकी रायलबाट गरी २५ जनाको प्रहरी टोली परिचालन गरेको प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले राससलाई जानकारी दिए ।

मृतक गोमाका श्रीमान् जयमल बोहरालाई हिरासतमा राखी घटनाबारे सोधपुछ गरिरहेको प्रहरीले बताएको छ । यसका साथै घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस