
काठमाडौं, वैशाख ५ । अभिनेत्री मनीषा कोइरालाले हिमाली क्षेत्रमा थुप्रै समस्याहरु रहेको बताउँदै त्यसतर्फ ध्यान दिन आवश्यक रहेको बताएकी छन् ।
बिहीबार काठमाडौंमा आफ्नो सगरमाथा बेसक्याम्पसम्मको यात्रा अनुभव सुनाउँदै उनले हिमाली परिवेश, कला, धर्म संस्कृति अनुपम पाएको भन्दै यसको उचित संरक्षण र सम्वर्द्धनमा सबैको ध्यान पुग्नुपर्ने बताइन् ।
क्यान्सर जित्न सफल अभिनेत्री मनीषाले सगरमाथालाई नजिकबाट नियाल्ने बाल्यकालदेखिको सपना पूरा भएको भन्दै क्याम्प जानेक्रममा डर लागेपनि इच्छाशक्तिले सम्भव भएको बताइन् ।
गएको चैत २४ गते पदयात्राका लागि सगरमाथा आधारशिविरतर्फ गएकी उनी आफ्नो यात्रा सकाएर सोमबारमात्र काठमाडौं फर्किएकी हुन् ।
उनी आफ्ना भारतका तीनजना स्कुले साथीका साथमा सगरमाथाको आधारशिविरको पदयात्रातर्फ गएकी थिइन् ।
क्यान्सर रोगलाई जितेपछि समाजका विभिन्न क्षेत्रमा सक्रिय अभिनेत्री कोइराला आधारशिविरतर्फ जानुअघि पदयात्राको तयारीका लागि काठमाडौं उपत्यका वरपरका पहाडमासमेत चढेकी थिइन् ।
सरकारले सुरु गरेको भ्रमण वर्षलाई सहयोग पुर्याउन साथीहरुलाई लिएर आधारशिविर चढेको उनको भनाइ छ ।
बलिउडको चर्चित र कालजयी चलचित्रहरुमा अभिनय गरेकी अभिनेत्री कोइरालाको पहिलो चलचित्र ‘फेरि भेटौंला’ नेपाली भाषाको थियो । उनले नेपाली सिनेमा पनि महत्वपूर्ण योगदान पुर्याएकी छन् ।
प्रतिक्रिया दिनुहोस्