
काठमाडौं, साउन २३ । एक वर्षको अवधिमा गेडागुडी, दालजस्ता खाद्यान्नमा उच्च मूल्यबृद्धि भएको छ ।
नेपाल खुद्रा व्यापार संघको तथ्यांक अनुसार गत वर्षको साउन महिनाको तुलनामा यस वर्षको साउन महिनासम्ममा दलहनको मूल्य करिब ६० प्रतिशतसम्म बढेको छ ।
यस अवधिमा मासको दाल सबैभन्दा महँगो भएको छ । खाद्यान्नमा भएको उच्च मूल्यबृद्धिले निम्न एवं मध्यमवर्गीय उपभोक्ता बढी मारमा परेका छन् ।
नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार पनि उपभोक्ता मुद्रास्फिती गत बर्षको तुलनामा करिब साढे तीन प्रतिशतले बढेको छ । दाल, चिनी, गेडागुडी, मसलाजस्ता खाद्यबस्तुमा भएको उच्च मूल्यबृद्धिले उपभोक्ता मारमा पर्दै आएका छन् ।
एक बर्षको अवधिमा दालको मूल्य प्रतिकिलो एक सय रुपैयाँसम्म बढेको छ । गत बर्षको साउनमा किलोको १९० रुपैयाँमा पाइएको रहर दालको मूल्य यो बर्षको साउन महिनामा २७० रुपैयाँ पुगेको संघको तथ्यांक छ । त्यस्तै १२५ रुपैयाँ प्रतिकिलो रहेको चनाको दाल अहिले २२० रुपैयाँ पुगेको छ ।
अघिल्लो बर्ष यसै समयमा १७० रुपैयाँमा पाइने मासको दाल अहिले २७० रुपैयाँमा बिक्री भइरहेको छ । ३२० रुपैयाँ प्रतिकिलोको ज्वानो अहिले बढेर ६०० रुपैयाँ भएको छ ।
त्यस्तै गत बर्षको साउनमा ६५ रुपैयाँ प्रतिकिलो रहेको चिनीको मूल्य अहिले ८५ देखि ९० रुपैयाँ भएको छ । यसबाहेक चामल, पीठो, तेल, मसला आदि खाद्यान्नको मूल्य पनि गत बर्षको तुलनामा बृद्धि भएको संघको तथ्यांक छ ।
हरेक बस्तुमा उच्च मूल्यबृद्धि हुँदा पनि नियन्त्रणको प्रयास नभएको गुनासो उपभोक्ताको छ ।
खुद्रा व्यापार संघका अध्यक्ष पवित्र बज्राचार्य चिनी, दाल, गेडागुडीको मूल्यमा बृद्धि भएपनि अन्य अत्यावश्यक खाद्यान्नमा भने खासै मूल्यबृद्धि नभएको बताउँछन् ।
भारतमा दाल एवं गेडागुडीको मूल्यमा भएको बृद्धिको असर नेपालमा पनि परेको उनको दाबी छ ।
सरकारले कृत्रिम अभाव नियन्त्रणमा कुनै प्रयास नगर्दा पनि मूल्यबृद्धिको मार खेप्नु परेको उपभोक्ताको गुनासो छ ।
प्रतिक्रिया दिनुहोस्