Logo ११ बैशाख २०८३, शुक्रबार | Fri Apr 24 2026


चट्टान छिचोल्दै डोल्पामा गाडी पुग्दा जे देखियो.. (भिडियो हेर्नुहोस)


0
Shares

-संजीव बगाले, ईमेज

काठमाडौं, साउन २४ । भौगोलिक आधारमा नेपालको सबैभन्दा ठूलो र विकट कर्णालीको पनि विकट जिल्ला भनेर चिनिने डोल्पा अव सडक सन्जालसँग जोडिएको छ । यद्यपी डोल्पा सदरमुकाम दुनैसम्म सडक पुग्न भने अझै १ वर्ष लाग्नेछ ।

कर्णाली अञ्चल नेपालकै विकट क्षेत्रका रुपमा परिचित छ । जुम्ला, हुम्ला, कालीकोट, मुगू र डोल्पामध्ये जुम्ला, कालीकोटतिर मोटर बाटो पुग्दा गीत नै बन्यो । तर, हुम्ला र डोल्पालाई भने मोटर बाटोले छुन सकेको थिएन । त्यसमध्ये डोल्पालाई भने अव मोटरबाटोले जोडेको छ ।

रुकुमको मनका बगरदेखि रुकुम डोल्पा सिमाना इलाका त्रिवेणीसम्मको झण्डै ६ किलोमिटर सडकखण्डमा आइतवार सवारी साधन गुड्ने भएपछि त्यस क्षेत्रका स्थानीयहरु बिहानैदेखि सडकमा पहिलो पटक आउन लागेको गाडीको स्वागतका लागि तम्तायार भएर बसेका थिए ।

भेरीको किनारमा जटिल भू–बनोट छिचोल्दै बनाइएको सडकमा गाडी गुडाउन सहज पक्कै पनि थिएन । तर पनि गाडीमा अटाउन मिल्नेजती यात्रु बसेका थिए ।

अनि ति गाडीका लागि ठाउँठाउँमा स्वागत गेट राखिएका थिए । सर्वसाधरणहरु बाजागाजसहित उपस्थित भएका थिए । प्रधानसेनापति राजेन्द्र क्षेत्रीले सडकमा सार्वजनिक यातायात सञ्चालनको उदघाटन गर्दैगर्दा ठूलो मात्रामा उपस्थित भएका सर्वसाधारणहरुमा खुशीको सीमा थिएन ।

उनीहरुले सडक बनाएकोमा सेनालाई धन्यवाद मात्रै दिएनन्, अब विकासको ढोका समेत खुल्ने आशा व्यक्त गरे । स्थानीय जनताको साथ पाएर उत्साहित बनेका प्रधानसेनापति क्षेत्रीले आफुहरुलाई सडक निर्माणका लागि थप उर्जा मिलेको प्रतिक्रिया दिए ।

दुनैसम्म सडक पुर्‍याउनका लागि सेनालाई जस्तोसुकै सहयोग गर्न पनि आफुहरु तयार रहेको सडक बिभागका महानिर्देशक माधब कार्कीको प्रतिबद्धता छ ।

आवश्यक बजेट प्राप्त भएमा युद्धस्तरमा काम गरेर भएपनि दुनैलाई छिटै सडक सन्जालसंग जोड्ने नेपाली सेनाका प्राविधिक सहायक रथी उद्धव बिष्टको दावी छ ।

निर्माणाधीन जाजरकोट डोल्पा दुनै सडक अन्तरगत रुकुमदेखि डोल्पा सिमासम्मको ७८ किलोमिटर सडकको ट्र्याक खोल्ने काम सकिएको छ ।

डोल्पा तर्फको २६ दशमलब ८ किलोमीटर सडकको पनि नेपाली सेनाले ट्रयाक खोलिसकेको छ । अब १३ दशमलब ७ प्रकिलोमिटर ट्रयाक खोलेपछि दुनैसम्म सडक पुग्छ ।

कठिन भु–बनोट र प्रतिकुल मौसमका बाबजुद अब २ खण्डमा बिभाजन गरेर सडक निर्माणको काम गरिने सडक निर्माण कार्यदलका प्रमुख एवं प्राविधिक प्रमुख सेनानी बिश्वबन्धु पहाडीको भनाइ छ । सडकको ट्रयाक खोलिसकेपछि साना ठूला पुल बनाउने कार्य मात्र बाँकी रहनेछ ।