२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


फिस्टेल दुर्घटनाग्रस्त, हेलिकोप्टरमा सवार सबै सातैजनाको मृत्यु


0
Shares

                                                                     फाइल फोटो

कपिलदेव खनाल (इमेज)

अपडेट
नुवाकोट, साउन २४ । गोरखाबाट बिरामी लिएर काठमाडौं आउँदै गरेको फिस्टेल एअरको हेलिकोप्टर सोमबार दिउँसो नुवाकोटमा दुर्घटना हुँदा त्यसमा सवार सातजनाको मृत्यु भएको छ ।

गोर्खाको सिर्दिवास गाविस–८ फिलिमबाट सुत्केरी महिला लिएर आउँदै गरेको ‘९ एनएकेए’ कलसाइन रहेको हेलिकोप्टर नुवाकोटको मदानपुर गाविस–८ स्थित बेतिनीको डाँडोमा रहेको टावरमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा परी हेलिकोप्टरका चालक २५ वर्षीय रञ्जन लिम्बु, १९ वर्षीय सुत्केरी प्रीति गुरुङ, उनको पाँच दिनको शिशु, ससुरा ६० वर्षीय किर्तमान गुरुङ, सासु ५६ वर्षीया अज्ञानी गुरुङको मृत्यु भएको हो ।

यस्तै, काठमाडौंबाट हेलिकोप्टर लिएर गोर्खा गएकी लक्ष्मी गुरुङ र उनकी साथी निशा तामाङको पनि मृत्यु भएको छ ।

नुवाकोटका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोखरेलले शवहरु भीरमा छिन्नभिन्न अवस्थामा रहेको र शव जम्मा गर्ने काम भइरहेको जानकारी दिएका छन् ।

दुर्घटनाको खबर आएलगत्तै उद्धारका लागि काठमाडौंबाट हेलिकोप्टर र नुवाकोटबाट प्रहरी परिचालन गरिएको पनि प्रजिअ पोखरेलले बताए ।

हेलिकोप्टर गोरखाबाट दिउँसो १२ बजेर १० मिनेटमा उडेको थियो । १२ बजेर ३५ मिनेट जाँदा हेलिकोप्टर सम्पर्कबाहिर गएको फिस्टेल एअरले जनाएको छ ।

घटनास्थल राजधानी काठमाडौं र नुवाकोट सदरमुकाम विदुरको मध्य भागमा रहेको छ ।