
प्रसन्न पोखरेल (रासस)
गोरखा, साउन २४ । गोरखाबाट बिरामी लिएर काठमाडौंका लागि उडेको फिस्टेल एअरको ‘९ एनएकेए’ कलसाइन हेलिकोप्टर दुर्घटनामा नवजात शिशुसहित एउटै परिवारका चारजना परेका छन् ।
सो हेलिकोप्टरमा जिल्लाको सिर्दिवास गाविस–२ फिलिमका ६० वर्षीय कितमान गुरुङ, उनकी ५६ वर्षीया श्रीमती अज्ञानी, १९ वर्षीया सुत्केरी बुहारी प्रिती र उनको पाँचदिनको नवजात शिशु सवार रहेका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिए ।
नवजात शिशु बिरामी भएका कारण उपचारका लागि सो हेलिकोप्टरमा काठमाडौं लगिँदै थियो ।
हेलिकोप्टरमा सिर्दिवास गाविस–२ फिलिमकै लक्ष्मी गुरुङ र सुनसरीको इटहरी घर भएकी जिल्लास्थित फेज नेपालमा कार्यरत् स्वास्थ्य कार्यकर्ता निशा तामाङसमेत सवार थिए ।
जिल्लाको दुर्गम भेगको उक्त गाविसमा यातायातको असुविधा भएका कारण हेलिकोप्टर चार्टर गरिएको बताइएको छ ।
सो हेलिकप्टरका चालक रञ्जन लिम्बू हुन् ।
प्रतिक्रिया दिनुहोस्