२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


फिस्टेल दुर्घटनाः ७ जनाको मृत्यु, शव संकलन गरी काठमाडौं ल्याइयो (भिडियो)


0
Shares

नुवाकोट, काठमाडौं, साउन २४ । गोरखाबाट बिरामी लिएर काठमाडौं आउँदै गरेको फिस्टेल एअरको हेलिकोप्टर सोमबार दिउँसो नुवाकोटमा दुर्घटना हुँदा सातजनाको मृत्यु भएको छ ।

गोर्खाको सिर्दिवास गाविस–८ फिलिमबाट सुत्केरी महिला लिएर आउँदै गरेको ‘९ एनएकेए’ कलसाइन रहेको हेलिकोप्टर नुवाकोटको मदानपुर गाविस–८ स्थित बेतिनीको डाँडोमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा परी हेलिकोप्टरका चालक २५ वर्षीय रन्जन लिम्बु, १९ वर्षीया सुत्केरी प्रीति गुरुङ, उनको पाँच दिनको शिशु, ससुरा ६० वर्षीय किर्तमान गुरुङ, सासु ५६ वर्षीय सुपानी गुरुङको मृत्यु भएको हो ।

यस्तै, काठमाडौंबाट हेलिकोप्टर लिएर गोर्खा गएकी लक्ष्मी गुरुङ र गोर्खास्थित स्वास्थ्यचौकीमा कार्यरत् नर्स इटहरीकी निशा तामाङको पनि मृत्यु भएको छ ।

दुर्घटनाको खबर आएलगत्तै उद्धारका लागि काठमाडौंबाट हेलिकोप्टर र नुवाकोटबाट प्रहरी परिचालन गरिएको थियो ।

उद्धार टोलीले भीरपाखामा छरिएका शव संकलन गरी हेलिकोप्टरबाट काठमाडौं ल्याएको छ ।

शवहरु पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ भने पोस्टमार्टनपछि आफन्तलाई बुझाउने बताइएको छ ।

गोरखाबाट सोमबार दिउँसो १२ बजेर १० मिनेटमा उडेको हेलिकोप्टर १२ बजेर ३५ मिनेट जाँदा सम्पर्कविहीन भएको फिस्टेल एअरले जनाएको छ ।

घटनास्थल राजधानी काठमाडौं र नुवाकोट सदरमुकाम बिदुरको मध्य भागमा रहेको छ ।

भिडियो हेर्नुहोस्