२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


दुबईमा काम गर्दै आएका नेपालीद्वारा उद्धारका लागि आग्रह


0
Shares

काठमाडौं, साउन २५ । दुबईमा सेक्युरिटी गार्डमा काम गर्नका लागि भन्दै लगिएका ३५ जना नेपालीले आफूहरुले ९ महिना अघिदेखि कम्पनी र मेनपावरबीच सम्झौता भएअनुसारको तलब नपाएको भन्दै उद्धारका लागि अबुधाबीस्थित नेपाली राजदुतावासमा निवेदन दिएका छन् ।

उनीहरु दुबईको लिडर सेक्युरिटी सर्भिसमा काम गर्ने गरी गएका हुन् । आफूहरुलाई सुरुदेखि नै सम्झौताअनुसारको रकम नदिइएको र हाल आएर खाना खर्चसमेत नखिइएको उनीहरुले जनाएका छन् ।

काठमाडौंको हिमारब ओभरसिज र एनसिएफ नेपाल मेनपावरमार्फत गएका उनीहरुले आफूहरुको चरम श्रम शोषण भएको बताएका छन् ।

उनीहरुलाई नेपालबाट जाँदा महिनामा २६ दिन काम गर्नुपर्ने र मासिक तलब १ हजार ७ सय ८१ दिराम दिने भनिए पनि सो अनुसार तलब नदिइएको उजुरीमा उल्लेख छ । आफूहरुले महिनामा ३० दिन दैनिक १२ घण्टा काम गरेता पनि कम्पनीले महिनाको २०० र ३०० दिराममात्र तलब दिएको निवेदनमा उल्लेख छ ।

समस्याका बारेमा दुबईको लेबर कोर्टमा उजुरी गर्दा कम्पनीले सम्झौता रद्द गरी जबर्जस्ती नेपाल फर्काउने धम्की दिइएको उनीहरुले बताएका छन् । यसका बारेमा नेपाली दुतावासमा श्रम सहचारी हिरा यादवलाई समेत जानकारी गराएको उनीहरु बताउँछन् ।

आफूहरु ठगिमा परिरहेको अवस्थामा लिडर सेक्युरेटी सर्भिस कम्पनीले अन्य कामदार मगाउन लागेको जानकारी पाएको भन्दै त्यसलाई रोक्नसमेत पीडितहरुले आग्रह गरेका छन् ।

उद्धारका लागि आग्रह गर्दै दुतावासमा निवेदन दिनेहरुमा भरत जोशी, देवकुमार श्रेष्ठ, गोपाल धिमाल, इन्द्रकुमार सिंह, जगतबहादुर थापा, चन्द्रबहादुर बस्नेत, शिवकुमार गुरुङ, सुनिल भण्डारी, भक्तराज थापा लगायत छन् ।