
काठमाडौं, साउन २५ । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार श्रमजीवि पत्रकारहरुको पक्षमा रहेको बताएका छन् ।
नेपाल पत्रकार महासंघको टोलीसँग आज आफ्नै सरकारी निवास बालुवाटारमा भएको भेटमा उनले लोकतन्त्र र गणतन्त्रमा पत्रकारले खेलेको भूमिकाको स्मरण गर्दै श्रमजिवी पत्रकारहरुको हितमा सरकारले काम गर्ने विश्वास व्यक्त गरे
श्रमजिवी पत्रकारहरुको न्यूनतम पारिश्रमिक सरकारले निर्धारण गरिसकेको भन्दै त्यसमा सरकारले कुनै पुनर्विचार नगर्ने पनि स्पष्ट पारे ।
संविधान कार्यान्वयन अहिलेको चुनौति भएको भन्दै यसका लागि राजनीतिक दल र सबै समुदायको सहयोग आवश्यक परेको उनले उल्लेख गरे ।
शान्ति प्रक्रिया टुंगोमा पुर्याउने, संविधान कार्यान्वयन र पुनर्निमार्ण सरकारको प्राथमिकतामा रहेको भन्दै उनले सरकारले जनअपेक्षा अनुसार काम गर्ने बचन दिए ।
राष्ट्र सम्भावना र चुनौतिको संघारमा रहेको भन्दै प्रधानमन्त्री दाहालले यस परिस्थितिमा सरकारलाई सहयोग गर्न पत्रकारहरुसँग आग्रह पनि गरे ।
महत्वपूर्ण मुद्दाहरुमा राष्ट्रिय सहमति जरुरी पर्ने भन्दै प्रधानमन्त्री दाहालले यसका लागि आफूले प्रयास कायम राख्ने बताए ।
नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र बिष्टले ढिलो नगरिकन न्यूनतम पारिश्रमिक कार्यान्वयनमा ल्याउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए । मिडिया कानुन, प्रेस काउन्सिलको पुनर्सरचना जरुरी रहको भन्दै अध्यक्ष बिष्टले श्रमजिवी पत्रकारहरुको हक अधिकारमा गम्भिर बन्न आग्रह गरे ।
नेपाल पत्रकार महासंघको टोलीले प्रधानामन्त्री दाहाललाई बधाइसहित कार्यकाल सफलताको लागि शुभकामना दिएको थियो ।
प्रतिक्रिया दिनुहोस्