जितेन्द्र भण्डारी-
पाँचथर, साउन २८ । राज्य पुनर्संरचना आयोगले पाँचथरमा ५ वटामात्रै स्थानीय निकाय बनाउने प्रस्ताव गरेपछि जिल्लाका राजनीतिक दलले असन्तुष्टि जनाएका छन् ।
उनीहरुले ५ वटा स्थानीय तह अत्यन्तै थोरै हुँदा राज्य पुनर्संरचनाको प्रत्याभूति नागरिकले नगर्ने भन्दै कम्तीमा ७ वटा बनाउन सुझाव राख्दै आएका छन् ।
जनसंख्या र भौगोलिकताका हिसावलाई मिलाएर हेर्दा पनि कम्तिमा ७ वटा स्थानीय तह बनाउनुपर्ने नेपाली कांग्रेस पाँचथर जिल्ला सभापति नरेन्द्रकुमार केरुङ बताउँछन् ।
पुनर्संरचना गरिने गाउँपालिका र नगरपालिकाको नामांकन र सीमांकन गर्न जिल्ला विकास समिति पाँचथरले पटक–पटक बोलाएको बैठकमा दलका नेता र नागरिक अगुवाले ६ गाउँपालिका र १ नगरपालिका बनाउने गरी आयोगलाई ध्यानाकर्षण गराउन सुझाव दिँदै आएका छन् ।
हाल पाँचथरमा १ नगरपालिका र ३८ गाविस छन् । जिल्लाको कूल जनसंख्या १ लाख ९१ हजार छ ।
राजनीतिक दलसँगै जिल्लाका नागरिक समाज र सञ्चार क्षेत्रका अगुवा पनि पाँचथरमा गाउँपालिका र नगरपालिकाको संख्या कम्तिमा ७ हुनुपर्नेमा एकमत छन् ।
जिल्ला विकास समिति पाँचथरले स्थानीय निकायको पुनर्संरचनासम्बन्धी पटक–पटक गरेका छलफलमा जिल्लावासीले एकमत भएर गाउँ र नगरपालिकाको संख्या बढाउन प्रस्ताव गरेकाले आयोगमा ती प्रस्तावलाई जस्ताको तस्तै पठाइने स्थानीय विकास अधिकारी कोमलप्रसाद धमलाले बताए ।
आयोगले गाउँको स्थानीय तह मुलकभरी ५ सय ६५ बनाउनुपर्ने तर्क गरिरहे पनि अहिले यो संख्या थोरैमात्र भएको सांसदहरुले आवाज उठाइरहेका छन् । जिल्ला तथा गाउँका सरोकारवाला निकायले पनि स्थानीय तहको संख्या बढाउन माग गरिरहेका छन् । यसतर्फ आयोगको ध्यान जानु आवश्यक देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्