२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


‘मानवीय त्रुटिले दुर्घटना दोहोरियो’


0
Shares

                                                                 फाइल फोटो
काठमाडौं, साउन २८ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हवाई दुर्घटना छानबिन समितिको प्रतिवेदन पूर्णरुपमा लागू गरिएपनि कतिपय मानवीय त्रुटिका कारणले दुर्घटना दोहोरिएको बताएको छ ।

व्यवस्थापिका–संसदको सुशासन तथा अनुगमन समितिको शुक्रबारको बैठकमा उक्त मन्त्रालयका सचिव प्रेमकुमार राईले हवाई उडान भर्नुअघि चालकको स्वास्थ्य परीक्षण गर्ने नीतिलाई आगामी दिनमा कडाइकासाथ पालना गराइने जानकारी दिए ।

हवाई उडानका क्षेत्रमा खासगरी अपनाउनुपर्ने नियम तथा नयाँ प्रविधिको प्रयोगमा विशेष ध्यान पुर्‍याइएको बताउँदै उनले कतिपय अवस्थामा जहाज र चालक ठीक भएपनि डाँडामा ठोक्किएर दुर्घटना हुने गरेको तथ्यांक प्रस्तुत गरियो ।

बैठकमा कतिपय दुर्घटना छानबिन समितिको प्रतिवेदनलाई विश्लेषण गर्ने हो भने चालकको बानी व्यहोरासमेत ध्यान दिन आवश्यक रहेको जनाउँदै मन्त्रालयका तर्फबाट अनुसन्धान र छानबिनलाई विश्वसनीय तुल्याइ प्रतिवेदन कार्यान्वयनमा जोड दिइने प्रतिबद्धता जाहेर गरियो ।

विमानमा जडान भएको उपकरणका आधारमा चालकले प्रत्यक्ष दृष्टि र प्रविधिको प्रयोग सहायता लिएर दुई किसिमबाट हवाई उडान गरिन्छ ।

नेपालमा भएका धेरैजसो हवाई दुर्घटना पहाडी क्षेत्रमा हुने गरेको छ । मौसममा अचानक आउने खराबीका कारण चालकले हवाईमार्ग पत्ता लगाउन नसक्दा दुर्घटनाका सम्भावना बढाउने गरेको घटना बैठकमा जानकारी गराइयो ।

मन्त्रालयका सहसचिव सुरेश आचार्यले हवाई क्षेत्रको नियमन र दुर्घटनासम्बन्धी हेर्ने बेग्ले संयन्त्रको खाँचो रहेको जानकारी दिए ।

मुलुकमा हवाई दुर्घटनाका घटना निकै बढ्न थालेपछि मन्त्रालयले विमानलाई साहसिक उडानका नाममा जोखिमपूर्ण देख्दादेख्दै बादलमा प्रवेश गराएमा अनुमतिपत्र खारेजीसम्मको चेतावनी राखेर नियमावली बनाउने कार्य प्रारम्भ गरेको छ ।

साहस देखाउने, जोखिम बहन गर्ने चालक होइन, प्रविधिको प्रयोगरी विधि र प्रक्रिया पूरा गर्ने चालकको आवश्यकता महसुस गरिएको मन्त्रालयका पदाधिकारीको धारणा छ ।

हवाई उडानका क्षेत्रमा रहेका प्राविधिकको भने राडार जडानमा मापदन्ड पूरा भएको छ कि छैन भनेर हेर्नुपर्नेमा विमानस्थलको संख्यामात्र बढाउने कुरा युक्तिसंगत नभएको गुनासो छ ।

हवाई उड्डयनसम्बन्धी अन्तर्राष्ट्रिय संस्था ‘आइकाओ’ले जुन देशमा हवाई दुर्घटना हुन्छ, त्यस देशमै दुर्घटनासम्बन्धी छानबिन आयोग गठन गर्नुपर्ने प्रावधान राखेको छ । नेपालमा यो महिनामै पनि दुईओटा हवाई दुर्घटना भएका छन् ।

यसअघि, बैठकमा समितिका सदस्यले ‘मुलुकको हवाई दुर्घटनाका मुख्य कारण तालिम, व्यवस्थापन र लापरबाही हो भन्ने आमजनताले बुझेका छन्, वास्तविकता केहो ?’ भनी प्रश्न राखेका थिए ।

निजी कम्पनीले चालकलाई प्रतिमहिना रु दुई लाख सुविधा दिँदा पनि नाफामा जाने तर नेपाल एअरलाइन्सको भने रु ४० हजार दिँदासमेत घाटामा गयो भन्ने सुन्नुपर्दा दुःख लागेको गुनासो गर्दै सांसदले एउटा कम्पनीको विमान दुर्घटना भएपनि नयाँ कम्पनीको नाम दिएर चलाउने प्रवृत्तिलाई रोक्न सुझाव दिए ।

नागरिक उड्डयन प्राधिकरण प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले युरोपेली संघले नेपालको जहाजले संघका सदस्य मुलुकमा उडान भर्न नपाउने गरी कालोसूचीमा राखेकामा तोकिएको मापदन्ड पूरा गर्ने अन्तिम प्रयासमा प्राधिकरण रहेको जानकारी दिए ।

सो अवसरमा नेपालका ध्वजाबाहक विमान कम्पनी नेपाल वायुसेवा निगममा व्यवस्थापकीय सुधार, ट्रेड युनियनको अराजकताको अन्त्य र राजनीतिक हस्तक्षेप नरोकिएसम्म आफ्नो ढंगले काम गर्ने र सुधारको गुञ्जायस नदेखिएको जानकारी दिइएको थियो । रासस