
काठमाडौं, साउन २८ । नेपाल उद्योग वाणिज्य महासंघले उद्योगी–व्यवसायीहरुले महसुस गर्ने गरी औद्योगिक सुरक्षा दिन माग गरेको छ ।
शुक्रबार महासंघमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका अधिकारीहरुसँग छलफल गर्दै महासंघले प्रहरी प्रशासन औद्योगिक सुरक्षामाभन्दा राजश्व र भन्सारतर्फ केन्द्रित रहेको भन्दै औद्योगिक सुरक्षामा ध्यान दिन आग्रह गरेको हो ।
महासंघका अध्यक्ष पशुपति मुरारकाले औद्योगिक सुरक्षा बलको जिम्मा पाएको सशस्त्र प्रहरीलाई राजश्व र भन्सारको पनि जिम्मेवारी दिँदा औद्योगिक सुरक्षामा ध्यान नगएको बताए ।
संकटको समयमा प्रहरीको सहयोग चाहिएको भन्दै उनले प्रहरीको छवि पनि सुधार्न आवश्यक रहेको बताए ।
सशस्त्र प्रहरीका डीआइजी पुष्पराज केसीले औद्योगिक सुरक्षाका लागि चाहना हुँदाहुँदै पनि जनशक्ति अभाव भइरहेको बताए ।
उनले ५ हजार ८ सयजना औद्योगिक सुरक्षा बलका लागि माग भएपनि हाल ३ हजार ५ सयजनालेमात्रै सुरक्षा दिएको जानकारी गराए ।
सशस्त्र प्रहरीले काठमाडौं, इटहरी र नेपालगन्ज गरी तीनओटा केन्द्रबाट देशभरका औद्योगिक क्षेत्रको सुरक्षा हेरिरहेको उनले बताए ।
नेपाल प्रहरीका एसएसपी भोगबहादुर थापाले प्रहरीको सन्जाल देशभर रहेको र औद्योगिक सुरक्षाका लागि सशस्त्र प्रहरीलाई सघाउने र सघाउँदै आएको बताए ।
महासंघकी वरिष्ठ उपाध्यक्ष भवानी राणाले औद्योगिक सुरक्षा नहुँदा उद्योगी–व्यवसायीको मनोबल घटेको बताइन् ।
उनले वीरगन्ज, भैरहवालगायतका क्षेत्रमा सुरक्षा बढाउनुपर्ने माग जिल्लाबाट आएको सुनाइन् ।
उद्योगी–व्यवसायीहरुले सुरक्षाको अभावमा उद्योग–व्यवसाय बन्द हुँदै गएको बताए । आवश्यक परेको समयमा पनि सुरक्षा नपाएको गुनासो उनीहरुले गरेका छन् ।
कार्यक्रममा सशस्त्रका पूर्वएआइजी रविराज थापाले कार्यपत्र प्रस्तुत् गर्दै औद्योगिक सुुरक्षामा प्रहरीलाई अविश्वास नगर्न आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस्