
फाइल फोटो
रमेश लम्साल (रासस)
काठमाडौं, साउन २८ । प्रधानमन्त्री पुष्पकमल दाहालले खाडीमुलुकका विभिन्न जेलमा रहेका नेपालीको सम्बन्धमा गम्भीर चासो राखेका छन् ।
परराष्ट्रसचिव शंकरदास बैरागीलाई शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइ प्रधानमन्त्री दाहालले खाडी मुलुकमा रहेका नेपालीका समस्याबारे गम्भीर चासो राख्दै जेलमा रहेका नेपालीको ठोस तथ्यांक दिन निर्देशन दिएका हुन् ।
वैदेशिक रोजगारीको खोजीमा खाडीमुलुक पुगेका नेपालीले दुःख पाएको, उनीहरुको पेसागत् सुरक्षा नभएको तथा जेलमा कस्टकर जीवनयापन गर्न बाध्य भएको समाचार लगातार आउनु मुलुकका लागिसमेत सुहाउँदो विषय नभएकाले तत्काल समस्याको समाधान गर्न प्रधानमन्त्रीले परराष्ट्र सचिवलाई निर्देशन दिएका हुन् ।
नेपालीको कस्टकर अवस्था र जेलमा रहेका नेपाली नागरिकको रिहाइका लागि तत्काल पहल गर्न निर्देशन दिएको प्रधानमन्त्रीका स्वकीय उपसचिव मनोहरि तिमिल्सनाले जानकारी दिए ।
प्रधानमन्त्रीले भने–‘साउदी, कतार, मलेसियालगायतका खाडीमुलुकमा कति नेपाली बन्दी जीवन बिताइरहेका छन् ? कति रोजगारदाता कम्पनी टाट पल्टिएर नेपाली कामविहीन भएका छन् ? त्यसको ठोस तथ्यांक बनाएर तत्काल बुझाउनुहोला । सरकारले यसबारे आवश्यक निर्णय गर्नेछ ।’
भेटमा प्रधानमन्त्रीले खाडीमुलुकमा बन्दीजीवन बिताइरहेका रामचन्द्र तिमिल्सिनाको अवस्थाबारे पनि परराष्ट्र सचिवसँग जानकारी लिएका थिए ।
सो अवसरमा परराष्ट्रसचिव वैरागीले तिमिल्सिनाको सहयोगमा निजी क्षेत्रबाट रु २८ लाख संकलन भएको जानकारी दिएका थिए ।
प्रधानमन्त्रीले तिमिल्सिनाको घटनाबारे यथार्थ बुझेर थप जानकारी गराउन निर्देशन दिँदै सरकारले आवश्यक सहयोग गर्ने बताए । साउदी जेलमा रहेका तिमिल्सिना ‘ब्लड मनी’ तिर्न नसक्दा रिहाइ हुन सकेका छैनन् ।
परराष्ट्रसचिवले पेट्रोलियम पदार्थको मूल्य घटेकाले खाडी मुलुकमा धेरै कम्पनी बन्द हुँदै गएको र केही नेपाली कामदार कम्पनीबाट फिर्ता भइरहेको जानकारी दिए ।
सो अवसरमा प्रधानमन्त्रीले आफ्नै देशमा उत्पादन कार्यमा लगानी गरेर वैदेशिक रोजगारको विकल्प खोज्नेबारे आवश्यक निर्णय गर्नेसमेत बताएको स्वकीय उपसचिव तिमिल्सिनाले बताए ।
साउदी अरबको ठूलो निर्माण कम्पनी ‘साउदी ओगर’ मा कार्यरत् ४१ जना नेपाली नागरिकले सन् २०१६ को जनवरीदेखि तलब र केही क्याम्पमा जुलाई अन्तिम सातादेखि खाना खुवाउने मेससमेत बन्द भएको जनाउँदै उद्धार गर्नको लागि महावाणिज्य दूतावासबाट प्रबन्ध मिलाइएको छ ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले कस्टकर अवस्थामा रहेका नेपाली नागरिकलाई उद्धार गर्न, स्वदेश फर्काउन तथा अन्य वैकल्पिक कम्पनीमा काम गर्नसक्ने अवस्था निर्माणका लागि सम्बन्धित नियोगलाई स्पस्ट निर्देशन दिइएको जानकारी दिए ।
उनले साउदी अरबमा ९५ जना नेपाली नियोगको सम्पर्कमा आएको उल्लेख गर्दै घर फर्कन चाहनेलाई घर फर्काउन र अन्य कुनै उपाय अवलम्बन गर्न सकिने भए सोहीअनुसार गर्न निर्देशन दिइएको पनि बताए ।
उनले जेलमा रहेका तिमिल्सिनाको हकमा भने ‘ब्लड मनी’ जुटाउनका लागि वैदेशिक रोजगार प्रवद्र्धन बोर्डलगायतका निकायसँग छलफल जारी रहेको र केही समयपछि आवश्यक निर्णय हुने उल्लेख गरे ।
केही दिन पहिलेपनि प्रधानमन्त्री दाहालले साउदी अरब र श्रीलंकामा अलपत्र नेपाली नागरिकको उद्धार गर्न र उनीहरुको सुरक्षित स्वदेश फिर्तिका लागि पहल गर्न परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएका थिए ।
दलालको फन्दामा परेका १४ नेपाली महिला श्रीलंकामा अलपत्र अवस्थामा रहेको सूचना आएपछि उनीहरुलाई स्वदेश फर्काउने तयारी गरिएको परराष्ट्रले जनाएको छ ।
प्रधानमन्त्रीको निर्देशनलगत्तै नेपाली कन्सुलेट जनरल जेद्दाले साउदी ओगर कम्पनीमा कार्यरत् ४१ नेपालीमध्ये ६ जना नेपाल फर्केको र सोही कम्पनीमा कार्यरत् अन्य कामदारलाई स्वदेश फर्काउन साउदी सरकारसँग आवश्यक सहयोग उपलब्ध गराउने विषयमा कुराकानी भएको जनाएको थियो ।
परराष्ट्र प्रवक्ता पौडेलले साउदी सरकारको परराष्ट्र र श्रम मन्त्रालयसँग मिलेर नेपाली कामदारको विषयमा कुराकानी भइरहेको र कुनै न कुनै निकास निस्कनेक्रममा रहेको बताए ।
नियोगले नेपाली नागरिकले कुनै समस्या परी अप्ठ्यारो अवस्था भोग्नुपरेको भए नेपाली दूतावास, रियाद र महावाणिज्य दूतावास जेद्दामा सम्पर्क गर्न यसअघि नै आग्रह गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्