
जकार्ता, वैशाख ४ । विश्वकै धेरै मुस्लिम जनसंख्या रहेको इन्डोनेसियामा आज आम निर्वाचन भइरहेको छ ।
धार्मिक चुनावी अभियानले प्रश्रय पाउँदै आएको इन्डोनेसियाको इतिहासमै पहिलो पटक राष्ट्रपति, उपराष्ट्रपति, क्षेत्रीय स्तरमा एकै दिन मतदान हुँदैछ । स्थानीय समायानुसार पूर्वी क्षेत्रमा मतदान सुरु भईसकेको छ भने राजधानी जकार्तामा मध्यरातिबाट सुरु हुनेछ ।
तीनवटा फरक समय रहेको इन्डोनेसियामा चुनावी समय पनि फरक हुने गरेको छ ।
चुनावमा १६ वटा पार्टी प्रतिस्पर्धामा छन् । इन्डोनेसियाका १९ करोड २८ लाख ६६ हजार २ सय ५४ मतदाताले ८ लाख ९ हजार ५ सय मतदान केन्द्रबाट मतदान गर्नेछन् । करिब १७ हजार टापु रहेको इन्डोनेसियामा राष्ट्रिय र स्थानीय तहका २० हजार सिटका लागि २ लाख ४५ हजार उम्मेदवार प्रतिस्पर्धामा छन् ।
राष्ट्रपतिमा डेमोक्रेटिक पार्टी अफ स्ट्रगलबाट राष्ट्रपति जोको विडोडो, ग्रेट इन्डोनेसिया मुभमेन्ट पार्टीबाट प्राबोवो सुवियान्तोले उम्मेदवारी दिएका हुन् । दुबैजना यसअघि सन् २०१४ को चुनावमा समेत प्रतिस्पर्धामा उत्रिएका थिए । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्