
काठमाडौं, साउन २९ । आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत चौथो चरणको खेलमा नेपालले आज शीर्ष स्थानको नेदरल्याण्ड्ससँग खेल्दै छ ।
पारस खड्काको कप्तानीमा रहेको नेपाल र घरेलु टोली नेदरल्याण्ड्सबीचको खेल दिउँसो पौने ३ बजे सुरु हुने छ । प्रतियोगिताअन्तर्गत नेदरल्याण्ड्सबिरुद्धको दोस्रो खेल आगामी साउन ३१ गते सोमबार हुने छ ।
यसअघि खेलेको ६ खेलबाट ४ अंक जोडेको नेपाल अंक तालिकाको छैठौं स्थानमा छ भने नेदरल्याण्ड्स शीर्ष स्थानमा छ ।
नेपाली कप्तान पारस खड्काले नेदरल्याण्ड्सलाई उसकै मैदानमा दुवै खेलमा हराउन सके नेपालको अर्को चरणको प्रवेशको सम्भावना बलियो हुने बताएका छन् ।
तर कठिन प्रतिद्वन्द्वी नेदरल्याण्ड्सलाई उसकै मैदानमा हराउन नेपालले निकै सुधारिएको प्रदर्शन गर्नुपर्ने हुन्छ ।
प्रतियोगिताअन्तर्गत गत वैशाखमा घरेलु मैदानमा भएको नामिबियाविरुद्धका दुबै खेल जित्दै नेपालले अंकको खाता खोलेको थियो ।
त्यसअघिका दुवै चरणका खेलमा नेपाल स्कटल्याण्ड र पपुवा न्युगिनीसँग पराजित भएको थियो । नेपालले नेदरल्याण्ड्ससँग खेलेपछि केन्या, हङकङ र युएईसँग खेल्ने छ ।
आठ टोली सहभागी च्याम्पियनसिपमा शीर्ष चार स्थानमा रहने राष्ट्रले आगामी एक दिवसीय विश्वकपको छनोट चरणमा स्थान बनाउने छन् ।
प्रतिक्रिया दिनुहोस्