२६ कार्तिक २०८१, सोमबार | Mon Nov 11 2024


भैंसी पालेरै लखपति भए उल्टाखामका महिला(भिडियो)


0
Shares

-डिल्लीराज पन्त, ईमेज

कञ्चनपुर, साउन २९ । थोरै बचत र लगानीबाट पनि ठूलो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरणका रुपमा कञ्चनपुरका महिला कृषक परिचित हुन थालेका छन् ।

महिला समूह बनाएर दैनिक २० रुपैयाँबाट बचत शुरु गरेका उनीहरुले अहिले सोही समूहबाट न्यूनतम् ब्याजमा ऋण लिई उन्नत भैंसीपालन सुरु गरेका छन् ।

करिब पाँच वर्ष पहिले ५० जना महिला मिलेर उन्नतशिल नमूना भैसीपालन समूह बनाएका कञ्चनपुर भिमदत्त नगरपालिका २ उल्टाखामका महिलाहरु अहिले व्यवसायिक रुपमा भैसीपालनमा लागेका हुन् ।

थोरै पैसा उठाएर समूहको गतिविधि थालेका उनीहरुले अहिले झण्डै साढे सात लाख रुपैयाँ बचत गरी गाई र भैसीपालन गर्न चाहने समूहका अरु सदस्यलाई सहुलियत दरमा ऋण समेत दिने गरेका छन् । ऋण लिएर भैसीपालन गरेकाहरुले दूध बेचेर राम्रो आम्दानी गरिरहेको समूहकी सचिव विमला जोशीको भनाई छ ।

समूह बनाएर भैसीपालन गर्दा महिलाबीचमा व्यवसायिकताका साथै अनुभवको आदान प्रदान पनि हुने गरेको छ । ती महिला कृषकलाई जिल्ला पशु सेवा कार्यालयले पनि पशुपालन सम्बन्धी विभिन्न तालिम दिने र रोगका बारेमा जानकारी दिने गरेको छ ।

यसबाट महिलाहरुले भैसीपालनका साथै आयआर्जनका अरु काम पनि एकसाथ गरिरहेका छन् । समूहमार्फत वार्षिक एक प्रतिशत व्याजदरमा ऋण पाउदा सजिलो भएको कृषकहरु बताउँछन् ।

अझ कृत्रिम गर्भाधानबाट गुणस्तरिय उत्पादन लिन सक्ने क्यवस्था भएपछि भैसीपालक कृषकको आकर्षण बढ्दै गएको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ ।

पशु सेवा कार्यालयले किसानलाई भैसीपालनतर्फ आकर्षित गर्न गतवर्ष ६४ लाख बराबर अनुदान दिनुका साथै उत्कृष्ट किसानलाई सम्मान समेत गरेको थियो ।

कञ्चनपुरका किसानहरुसँग करिब साढे ३ लाखको संख्यामा भैसी रहेको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ । जसमा उन्नत जातका ५२ हजार ६ सय ९३ र स्थानीय जातका ९३ हजार ५ सय ८३ वटा भैसी रहेको छ ।

सरकारले व्यवसायीक पशुपालनका लागि भन्दै हरेक वर्ष करोडौ रुपैयाँ खर्चने गरेको छ । त्यसैले, किसानले पनि सरकारी अनुदानको सदुपयोग गर्दै व्यवसायीक रुपमै पशुपालनमा लाग्न सके आर्थिक समुन्नती हुने देखिन्छ ।