२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


आफू मरेर जहाजमा सवार यात्रु बचाउने पाइलटलाई ‘ओजस्वी’ पुरस्कार


0
Shares

काठमाडौं, साउन २९ । न्यौपाने बन्धु समाजले विमानचालक स्व. दिनेश न्यौपानेलाई नारायण–ईश्वरी न्यौपाने समाजसेवा ओजस्वी पुरस्कार प्रदान गरेको छ ।

आफ्नो जीवन उत्सर्ग गरेर पनि जहाजमा सवार यात्रुलाई बचाउने वीरता, चिरस्मरणीय र गौरवशालीकार्य गरेबापत कदरस्वरुप उनलाई समाजले शनिबार राजधानीमा आयोजित समारोहमा उक्त सम्मान पुरस्कार प्रदान गरेको हो ।

पुरस्कारको राशि रु ११ हजार १११ नगद र सम्मानपत्र रहेको छ । समारोहमा नेपाली सेनाका पूर्वरथी बालानन्द शर्माले चालक न्यौपानेका पिता मानदत्त, आमा वीरलक्ष्मी र पत्नी रजनीलाई संयुक्तरुपमा उक्त पुरस्कार हस्तान्तरण गरे ।

गत फागुन १४ गते नेपालगन्ज–जुम्ला उडानमा रहेको काष्ठमन्डप एअरलायन्सको ‘९एनएजेबी’ विमानमा अचानक खराबी आएपछि कालिकोटको चित्खायामा आपत्कालीन अवतरण गराउनेक्रममा चालक न्यौपानेको निधन भएको थियो ।

एउटामात्र इन्जिन भएको उक्त जहाज आपत्कालीन अवतरण गराउँदा त्यसमा सवार ९ यात्रु घाइते भएका थिए । सो दुर्घटनामा को–पाइलट सन्तोष रानाको पनि निधन भएको थियो ।

यात्रुको जीवनरक्षाका लागि प्राण आहुति दिनेकार्य गरेको भनी चालकदलको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रबाट ठूलो प्रशंसा भएको थियो ।

वि.सं. २०४३ जेठ ३० गते डोल्पाको दुनैमा जन्मिएका न्यौपाने विद्यालयस्तरको पठाइको सिलसिलामा नेपालगन्ज जानेक्रममा चालकको पोसाक र आकाशमा उड्ने रहर राखेर विमानचालक बन्ने अठोट गरेका थिए । उनले अफ्रिकाबाट चालकसम्बन्धी उच्चशिक्षा हासिल गरेका हुन् ।

समारोहमा मुलुकभरका न्यौपानेका छोराछोरीमध्ये २०७२ सालमा सन्चालन भएको उच्च माध्यामिक विद्यालयको वार्षिक अन्तिम परीक्षामा सर्वाेत्कृष्ट नतिजा ल्याउने छात्र आभाष न्यौपाने र छात्रा रोशनी न्यौपानेलाई जनही रु ११ हजार १११ नगद पुरस्कार र प्रशंसापत्र प्रदान गरियो ।

पूवसचिव एवं समाजका अध्यक्ष वामनप्रसाद न्यौपानेले समाजको भवन निर्माण र वंशावली तयार गर्ने अठोट व्यक्त गरे ।

पूर्वमन्त्री हरिप्रसाद न्यौपाने र चालकका पिता मानदत्तले आफू मरेर गएपनि विमानमा सवार यात्रुको ज्यान जोगाएर पुर्‍याएको योगदानको सर्वत्र प्रशंसा भएको बताए । रासस