नेत्रविक्रम माओवादीको संगठनले किन गरायो शैक्षिक संस्था बन्द ? • Image Khabar Image Khabar


नेत्रविक्रम माओवादीको संगठनले किन गरायो शैक्षिक संस्था बन्द ?


Imagekhabar
३१ श्रावण २०७३, सोमबार २१:३०

नेत्रविक्रम माओवादीको संगठनले किन गरायो शैक्षिक संस्था बन्द ?

                                                                     फाइल फोटो

काठमाडौं, साउन ३१ । निजी विद्यालयमा भएको शुल्कबृद्धि घटाउनुपर्नेलगायत मागसहित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीनिकट अखिल क्रान्तिकारीले गरेको शैक्षिक हडतालका कारण सोमबार मुलुकभरका शैक्षिक संस्था बन्द भएको छ ।

सो संगठनको आह्वानमा सामुदायिक र निजी विद्यालय, विश्वविद्यालय मातहतका अधिकांश क्याम्पसको पठनपाठन बन्द भएको हो ।

सो संगठनको माग सम्बोधन गर्न शिक्षा मन्त्रालयले वार्तामा आमन्त्रण गरेपनि शिक्षामन्त्री नियुक्त नभएका कारण निर्णायक वार्ता हुनसकेको छैन ।

सो संगठनले निजी विद्यालयमा दिइने १० प्रतिशत छात्रवृत्ति बढाउनुपर्ने माग पनि राख्दै आएको छ ।

संगठनका उपाध्यक्ष लालबहादुर तामाङले सरोकारवाला निकायसँग पटक–पटक वार्तामा बसी सम्झौता गरेपनि कार्यान्वयन नहुँदा शैक्षिक संस्था नै बन्द गर्नुपर्ने अवस्था आएको बताए ।

शैक्षिक सुधारका लागि आफूहरुले राखेको माग पूरा हुनुपर्ने भन्दै उनले चरणबद्ध आन्दोलनमा जाने बताए ।

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन (एन–प्याब्सन) का अध्यक्ष कर्णबहादुर शाहीले आन्दोलनका नाममा शैक्षिक संस्था बन्द गर्दा नकारात्मक सन्देश जाने बताउँदै खतरा मोल्न नसकी आफूहरुले बिदा दिएको जनाउ ।

उनले सरकारले आफूहरुलाई सहुलियत ऋण वा अरु सुविधा दिएमा ३० प्रतिशतसम्म छात्रवृत्ति दिन तयार रहेको बताए ।

उनले भने–‘सरकारले शिक्षामा लगानी बढाएर वा भौचर प्रणाली लागू गरेर समस्याको समाधान गर्नसक्छ ।’

अभिभावक संघ नेपालका अध्यक्ष सुप्रभात भण्डारीले विद्यालयलाई अस्पतालसरह आकस्मिक क्षेत्र घोषणा गरी निर्वाध पठनपाठन गराउनुपर्ने र सरकारले सम्बन्धित विद्यार्थी संगठनको माग पूरा गर्न पहल गर्नुपर्ने जनाए ।

यसैबीच, पटक–पटक शिक्षालयमा बन्द र हडताल हुनुले विद्यालय शान्तिक्षेत्रको अवधारणा उल्लंघन र विद्यार्थीको पढ्न पाउने अधिकार कुन्ठित भएको शैक्षिक संस्थाले जनाएका छन् ।

बालबालिका शान्ति क्षेत्र राष्ट्रिय सञ्जाल (सिजप) र शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिइ) नेपाललगायतका संस्थाले विद्यालय खुलाउने वातावरणका लागि सरकार र बन्दकर्ता पक्षसँग आग्रह गरेका छन् । रासस

 

प्रतिक्रिया दिनुहोस्